चलचित्र क्राइम इन बिर्तामोड छायाङ्कनको तयारी

0
3

झापा । झापामा हुँदै आएको अपराध र त्यसको अनुसन्धानसँग सम्बन्धित चलचित्र निर्माण हुने भएको छ ।
बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको हो । क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआईबी राखिएको निर्माण पक्षले जनाएको छ । आर्थिक केन्द्रबिन्दुको हब बिर्तामोड, पछिल्लो समयमा लागूऔषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ । यहाँ हुने बिभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसन्धान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
चलचित्रको लेखन तथा निर्देशन रोहन राईले गरेका छन् । सहनिर्माता तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डीपी रिजाल र उमेश चौधरीले गरेका छन् । कार्यकारी निर्माता पुजन प्रकाश इङ्नाम रहेका छन भने मुख्य भूमिकामा रेजिना रणपहेली र बिवेक रिजाल रहेका छन् । उनीहरु दुबैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट आएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रय अनुसन्धान बिभाग इलामका एसपी तुलसी प्रसाईँले समाज परिवर्तनका लागि चलचित्रमार्फत सकारात्मक सन्देश दिन सकिने धारणा राखेका थिए । यो चलचित्रले समाजमा भइरहेका अपराधका घटनामा कमी ल्याउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, औषधि व्यवसायी वासु दुलाल, तीर्थ सिग्देल लगायतले चलचित्रको बारेमा धारणा राखेका थिए । चलचित्र आगामी दशैं अघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here