पथरीशनिश्चरे ।
मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ।
मिक्लाजुङ–१ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिकाको धिमाल परिवारको तीन जना सदस्य दुर्घटनामा परेका हुन्। रमिते टाँडि भित्रि सडक खण्डमा बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाईकलमा सवार बेलबारी नगरपालिका–१ का ३७ वर्षिय सुनिलकुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीया छोरी सुस्मिना धिमाल घाईते बनेको सुचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकोले उनको उपचारको क्रममा मृत्यु भएको हो । यता, सुस्मिनाको बुबाआमा दुवैको अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरिले जनाएको छ ।
मोटरसाईकल बाटोभन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । बालिकाको शवलाई पोष्टमार्टमको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।