कारबाहीमा परेकाहरुको सदस्यता नवीकरण नगर्ने कांग्रेस झापाको निर्णय

0
85

विर्तामोड,

नेपाली कांग्रेस झापाको पदाधिकारी बैठकले विधानतः कारबाहीमा परेकाहरुको हकमा केन्द्रबाट अर्को निर्देशन नभएसम्मका लागि नवीकरण नगर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय र गाउँ/नगर सभापतिहरुको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको विधान अनुसार स्थानीय, प्रदेशसभा एवं संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारका विरुद्ध बागी उठेका उम्मेद्वार र तिनका प्रस्तावक, समर्थकको विधानतः सदस्यता समाप्त हुने ब्यवस्था छ ।

१४ औं महाधिवेशनमा कायम रहेका क्रियाशिल सदस्यहरुको नवीकरण गर्न वडा समितिलाई पत्राचार गर्ने निर्णय गरेको बैठकले पार्टी छोडेर अन्यमा गएका, निधन भएका क्रियाशिल सदस्यको विवरण तयार पारी उपल्लो निकायमा अभिलेख पठाउन पनि निर्देशन गरेको छ ।

यसैगरी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्न इच्छुकहरुलाई पार्टी प्रवेश गराउन र पार्टी प्रवेश गरिसकेकाहरुको अभिलेख तयार गरी उपल्लो निकायमा पठाउन वडा समितिलाई आग्रह गर्ने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि जिल्ला प्रतिनिधिका रुपमा वडा तहमा खटाइएका जिल्ला पदाधिकारी एवं सदस्यहरुलाई सदस्यता नवीकरण कार्यमा सक्रियतापूर्वक खटिन बैठकले आग्रह गरेको छ ।

आगामी साउन २० गतेसम्ममा क्रियाशिल सदस्यता वडातहमा नवीकरण गरिसक्न समयसिमा निर्धारण गरी पार्टीले यसअघि नै वडा–वडामा क्रियाशिल सदस्यता फारम पठाइसकेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here