नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

0
17

म्याग्दी,

म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।

उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो ।

“तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।”

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताउनुभयो ।

आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् । यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताउनुभयो ।

उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् । सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी–दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् । कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here