पाथीभरामा आठ करोड भेटी मौज्दात

0
15

फुङ्लिङ(ताप्लेजुङ),

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो ।

पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बतानुभयो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक मौज्दात तथा मौज्दात रकमको ब्याजसमेत असार मसान्तसम्ममा भेटीवापत कूल रु १२ करोड ८० लाख ९९ हजार दुई सय ५१ सङ्कलन भएको छ । सङ्कलित उक्त रकममध्ये गत आवमा रु चार करोड ६७ लाख १९ हजार आठ सय ८७ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ ।

समितिले पछिल्लो एक वर्ष अर्थात् गत आवमा मात्र रु तीन करोड ९८ लाख ४१ हजार तीन सय १५ भेटी रकम सङ्कलन गरेको छ । गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र रु ८४ लाख ९४ हजार छ सय २८ खर्च भएको छ ।

यसैगरी आन्तरिक आयव्ययबाहेक सरकारी अनुदानतर्फ रु एक करोड ३९ लाख तीन हजार ११ आम्दानी भएको समितिले जनाएको छ । सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा रु छ लाख ३४ हजार दुई सय १२ खर्च भएको छ ।

सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापन लगायतमा बजेट खर्च भएको छभने तीर्थयात्री पदमार्ग, विश्रामस्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापन जस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको निर्देशक हाङ्बाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here