प्रभु बैंक बिर्तामोडका कर्मचारीका कारण लाखौं रुपैयाँ जोखिममा

0
239

बिर्तामोड ।

प्रभु बैंक बिर्तामोडका कर्मचारीका कारण झापा बिर्तामोडका एक व्यक्तिको लाखौं रुपैयाँ जोखिममा परेको छ ।

बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो ।

प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई लाख रुपैयाँ मात्रै बचत रहेको भन्दै बैंकले फर्काई दिएपछि बैंकको बदमासी बाहिर आएको हो ।

पीडित नेपाल र श्रीमान टीकाराम ‘नेति’ नेपालले अमेरिका जानुअघि ६ महिनाका लागि फिक्स डिपोडिटमा एक करोड १९ लाख ९३ हजार एक सय ४९ रुपैयाँ ८४ पैसा जम्मा गरेका थिए । उनीहरुले फिक्स डिपोजिटको रसिद माग गर्दा सिटौलाले ब्यालेन्स सर्टिफिकेट र डिपोजिट गरेको सक्कल कपी दिएपछि नेपाल दम्पत्ती अमेरिका गएका थिए ।

अमेरिकाबाट फर्किएपछि रकम झिक्न जाँदा रकम नै नभएको भनी चेक रिटर्न गरेपछि प्रभु बैंकका कर्मचारी सिटौलाको बदमासी बाहिरिएको हो । बैंकका शाखा प्रमुखसहितको कर्मचारीको मिलेमतोमा रकम अपचलन गरेको हुन सक्ने आशंका गरिएको छ ।

बैंकमा रकम नभएको जानकारी प्राप्त भएसँगै पीडित नेपालले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् । उजुरी लगत्तै बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै बैंकमा पेश गरिएका प्रमाणसहित उनले आफ्नो रकम सिटौलाको बदमासीका कारण गायव हुने स्थितिमा पुगेको गुनासो गरे । बैंकले कर्मचारीको बद्मासीका विषयमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।

बैंकका शाखा प्रवन्धक गणेशबहादुर बरालले सिटौलाले गरेको बदमासीका विषयमा केन्द्रले विहीवारबाटै झापा आएर अनुसन्धान शुरु गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पीडित नेपालले आफूले विभिन्न कारोबार तथा छोराहरुले विदेशबाट पठाएको रकम जम्मा गरेर आफू पनि विदेश गएको र ६ महिनापछि पैसा निकाल्न जाँदा रकम नै गायव पारिएको उल्लेख गरे ।

सिटौला बुधवार विहान आफूसँगै चन्द्रगढीबाट बिर्तामोड आएको र रकम आफूले निकाल्ने आश्वासन दिएका थिए । बैंकमा उजुरी गरेर आफूमाथि दवाव दिएको गुनासो गरेका उनले पीडित दम्पत्तीलाई रकम यताउता मिलाएर आफूले नै राखिदिएको र कुनै रकम नहराउने भन्दै आश्वास्त पारेका थिए । सिटौला बुधवार विहान १० बजे ग्याष्टिकको औषधि लिन भनी निस्किए लगत्तै फरार रहेको जनाइएको छ । उनले फरार भए लगत्तै सामाजिक सञ्जाल फेसबुक डिएक्टिभ गरेका छन् भने मोबाइल अफ गरेका छन् ।

बैंकमा आफूले जम्मा गरेको रकम नै गायव भएपछि नेपालले त्यस विषयमा अनुसन्धान गरेर नागरिकको रकम सुरक्षित गरिदिन सम्बन्धित निकायसँग माग समेत गरेका छन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध अविश्वासका घटना दिनप्रतिदिन बढिरहेका बेला बैंकमा जम्मा गरेको रकम नै गायव भएपछि बैंकमा रकम जम्म गर्नेहरु त्रसित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here