रोङ १ मा घुम्ती स्वास्थ्य शिविर प्रभावकारी बन्दै

0
152

गणेश अर्याल, इलाम ।

इलामको रोङ गाउँपालिका १ बगैचेका गोमा सुनुवार बुधबार गाउँमै अस्पताल पाउदा निकै खुशी हुनु हुन्थ्यो । ७३ बर्षकी सुनुवारलार्इ घुडाको हडडी खिएर समस्या भएकाले क्याल्सियम चक्की दिइएको थियो । आफ्नो प्रेसर पनि जँचाउनु भयो र औषधि लिएर घर फर्कनुभयो ।

उहाँ जस्तै ५१ जना अन्यले पनि बगैचेमा आफनो स्वास्थ्य परीक्षण गराउनुभयो र आवश्यक सरसल्लाह तथा औषधि लिएर फर्कनुभयो । त्यसैगरी ६६ बर्षका यसोदा ढकालले सिरिसेको शिविरमा प्रेसर जचाउनु भयो र उच्च रक्तचापको औषधि लिनुभयो । सिरिसेमा ८१ जना सेवाग्राहीले सेवा लिएको शान्तिुर स्वास्थ्य चौकीका अहेब गजेन्द्र अधिकारीले बताउनुभयो ।

रोङ गाउँपालिका वडा नम्बर १ ले बार्षिक नीति तथा कार्यक्रममा नै योजना बनाएर घुम्ती सिबिर सञ्चालन गर्न थालेपछि वडाका नागरिकहरु लाभान्वित हुन थालेका छन् । रोङको नागरिक सग सगै सूर्योदय नगरपालिका क्षेत्रका नागरिकले पनि रोङमा सेवा लिने गरेको अहेब अधिकारीले बताउनुभयो ।

प्रत्येक महिनाको १५, १६, १७ र १८ गते टोल स्तरीय स्वास्थ्य शिविर सञ्चालन गर्न थालेपछि स्वास्थ्य चौकी भन्दा टाडा रहेका नागरिकहरु पनि लाभान्वित हुन थालेका हुन । १५ गते कटहरे बगैचे टोलमा, १६ गते सिरिसे टोलमा, १७ गते गैरिगाँउ खर्बन टोलमा र १८ गते बडहरे टोलमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको वडा अध्यक्ष मनोहरि खडकाले बताउनुभयो ।

वडाकार्यालयले बनाएको कार्यक्रम अनुसार गाउँघर क्लिनिक पनि पायक पर्ने स्थानमा नै सञ्चालन भएको बताइएको छ । वडाभित्रको जुरेटोलमा प्रत्येक महिनाको २१ गते, शान्तिपुर बरचोकमा २२ गते र बरभञ्ज्याङको खानेपानी भवनमा २३ गते गाउघर क्लिनिक सञ्चालन भइरहेको शान्तिपुर स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा सचेत रहदै वडा कार्यालय र स्वास्थ्य कार्यालयले बालबालिकाहरुको लागि खोप सेवा र महिनामा एक दिन आमा समुहका सदस्यहरुको लागि समेत स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । स्वास्थ्य उपचारको लागि टाडाको अस्पतालसम्म जान नसक्ने र हैसियत नभएकाहरुको लागि टोल टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दा नागरिकहरुले लाभ लिएको वडाबासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here