सधैँ विद्रोह गर्नु नपरोस्

0
15

झापाको शनिश्चरे यस जिल्लाकै पुरानो प्रशिद्ध बजार हो । धेरैपछि बजार बन्न शुरु भएको बिर्तामोड अहिले झापाकै प्रमुख तथा आर्थिक कारोबारको केन्द्र बनिएको छ, तर पुरानो तथा आर्थिक गतिविधिको थलो शनिश्चरे ओझेलमै छ । यद्यपि त्यहाँ शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत तथा खानेपानी जस्ता विकासका पूर्वाधारहरु उपलब्ध छन् । कुनै समय तराई र पहाडलाई जोड्ने प्रमुख व्यापारिक केन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माणपछि भने सुस्ताएकै हो । सो राजमार्गले बिर्तामोडलाई छोएपछि सडक सञ्जालका कारण नयाँ बजार हुँदै यसबेला शहरमै रुपान्तरित भइरहेको छ ।

त्यसो त बिर्ता–महेन्द्र राजमार्गको उत्तर र अन्धुवा खोला पूर्वको भूगोल शनिश्चरे नै थियो । तर, पछि नयाँ नक्साङ्कन गरिँदा यो अनारमनीमा जोडियो र अहिले बिर्तामोड भएको हो । त्यसकारण पनि बिर्तामोड शनिश्चरे भन्दा बेग्लै भू–भाग हो भनेर पुराना बासिन्दाले पत्याइ हाल्दैनन् । जिल्ला सदरमुकाम भद्रपुरलाई अन्य क्षेत्रसँग जोड्ने मुख्य बाटो पुरानो बजार बिर्तासँग मोडिने कारणले बिर्तामोड भएको बिर्तामोडमै सडकहरुको दूरावस्था कायम छ । बरु बिर्तामोडभन्दा परका ग्रामीण सडकहरुको स्तरोन्नति भएको, सेवा–सुविधाको पहुँच बढेको छ । यस्तोमा पुरानो भए पनि शनिश्चरेसम्म पुग्ने बिर्तामोडदेखिको सडकको मर्मतसम्भार नहुनु दुर्भाग्य हो । यसले जोखिम पनि बढेको छ । यस्तो असुविधा र जोखिमका बीच यहाँका स्थानीयले सडक नै अवरुद्ध गरेर विरोध प्रदर्शन गरे । मंगलबार सडकमा ढाट तेस्र्याएर सडक अवरोध गरेका स्थानीयले सडक जीर्ण हुँदा पटक–पटक दुर्घटना भएको भन्दै स्थानीय सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराए ।

हुन त बालकले पनि खान पाउने अधिकारका लागि बिद्रोह नै गर्नुपर्छ भनिन्छ । संविधानले नागरिक हक सुनिश्चित गरेको भए पनि त्यसको प्रयोगका लागि आन्दोलन गरेका हामीकहाँ थुप्रै उदाहरण छन् । यो सडक दुई वर्षअघि स्तरोन्नतिको ठेक्का लागेको थियो । समयमा शुरु पनि नभएको भन्दै यसअघि सो सडकको दासपुल खण्डमा स्थानीयले अवरोध गरेपछि निर्माण सुचारु भएको थियो । यता बिर्तामोडदेखि शनिश्चरेबीचको डेढ किलोमिटर खण्डमा काम शुरु नै भएको छैन । ठेकेदार कम्पनी प्रविण मैनाचुली शान्ति जेभीले समयमा रकम निकासा नहुँदा समयमा काम गर्न नसकेको जनाएको छ । सरकार, सडक विभाग र ठेकेदार कम्पनीका कारण स्थानीयको सुरक्षित आवागमन गर्न पाउने हक कुण्डित हुनु हुँदैन । त्यसैले स्थानीयको बिद्रोहलाई समयमै सम्बोधन गरी जनउत्तरदायी बन्न सरोकारवाला सबै गम्भीर होऊन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here