कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान : राष्ट्रपति 

0
20
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताउनुभएको छ ।  पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको धारणा राख्नुभयो ।
उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै भन्नुभयो–‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफंैमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त गर्यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।’ राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको पनि बताउनुभयो । उहाँले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो ।
राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पंचायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना संभव भएको उल्लेख गर्नुभयो । उहाँले पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै भन्नुभयो–‘पुष्पलाल पञ्चायतका विरुद्धमा संघर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई समान स्नेह गर्नुहुन्थ्यो । हामी वीपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएको थियौं । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौमा कोसँग सम्पर्क गर्ने भन्दा हिरन्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाईले भनेको है भनेर पनि भन्नुभयो ।’
उहाँले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउभयो । उहाँले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘ नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ ।
हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौं तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवाहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पु¥याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नर्बिसौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here