बैंकप्रतिको विश्वास नमरोस्

0
28

बैंकहरुको विश्वासनीयता माथि नै विश्वव्यापी रुपमै प्रश्न उठ्न थालेको छ । अमेरिकाका दुईवटा बैंक डुबेपछि त बैंकहरु माथिको विश्वास झनै कमजोर हुँदै गएको छ । च्याउ सरह खुलेका बैंकहरुको विभिन्न प्रलोभन देखाएर पैसा जम्मा गर्न लगाउने र बचतकर्ताहरु पनि आकर्षक ब्याजको लोभमा फस्दा कतिपय वित्तीय संस्था तथा बैंकहरु अहिले बचतकर्ताहरुको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । व्यवस्थापन तथा सञ्चालनमा कठिनाई भएपछि पछिल्लो समय वित्तीय संस्था र बैंकहरु ‘मर्ज’को प्रक्रियामा पुगेका छन् भने आँखा चिम्लिएर बैंकलाई विश्वास गर्ने बचतकर्ताहरु चिन्तामा छन् ।

आम्दानीको केही अंश भविष्यका लागि सुरक्षित गर्न खोज्नु मानवीय विशेषता हो । त्यसमा पनि मुद्दति खाता पैसा जम्मा गरेर अतिरिक्त लाभ लिने प्रचलन छ । त्यही अवस्थामा अहिले बिर्तामोडस्थित प्रभु बैंकमा आफूले मुद्दति खातामा राखेको पैसा नभेटिएपछि अनेक प्रश्न र आशंकाहरु उब्जिएका छन् । भर्खरै प्रकाशित समाचार अनुसार बिर्तामोडकी मञ्जुकुमारी नेपालले उक्त बैंकमा राखेको बचतको समयसीमा सकिएर बैंक जाँदा आफ्नो बचत नै नरहेको थाह पाएपछि अन्यौलमा परेकी छन् । बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बदनियतपूर्वक नेपालको पैसा अपचलन गरेको हुनसक्ने आशंका गरिएको छ । सिटौलालाई विश्वासका आधारमा एक करोडभन्दा बढी रकम छ महिने मुद्दति खातामा जम्मा गरेको पीडितले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पैसा जम्मा गरेको कागजातहरु दिएर सिटौलाले बदमासी गरेको हुनसक्ने भन्दै बैंकले अनुसन्धान शुरु गरेको जनाएको छ । पीडित नेपाल सञ्चारकर्मी टीकाराम नेपालकी श्रीमती हुन् । आमजनतालाई सुसूचित गराउने सञ्चारकर्मीमाथि नै यस्तो अपराध हुनसक्छ भने सर्वसाधारणको बचत कति सुरक्षित हुन्छ, यसले बैंकप्रतिको विश्वास घट्ने निश्चित छ । यो घटनाले बैंकहरु प्रतिको नकारात्मक धारणा बढ्ने भएकाले नियन्त्रण गर्ने निकाय नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न जरुरी छ । यसै पनि कोरोनाकालदेखि देशको आर्थिक क्षेत्र शिथिल छ, त्यसमाथि सरकारको अस्थिरताका कारण समग्र अर्थव्यवस्था कमजोर रहेको भनिन्छ । बैंकिङ क्षेत्र कर्जा प्रवाह गर्ने, सञ्चालन तथा आममानिसको बचत संकलन गर्ने विश्वास प्राप्त संस्था हो । त्यसैले बैंकहरुको बैंक भनिने राष्ट्र बैंकले स्थलगत अनुगमन निरीक्षण र निर्देशन गरेर बैंकहरु प्रतिको गिर्दो विश्वासलाई जोगाउनु पर्दछ । अन्यथा न बचतको सुरक्षा हुन्छ, न त सञ्चित बचत लगानी हुन्छ । यसतर्फ सरकार पनि गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here