खोटाङ,
कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार पठाइएको हो ।
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कर्मा शेर्पा, ठगी मुद्दाका सन्तोष परियार, रेडपान्डाको छाला ओसारपसार मुद्दाका निश्चल श्रेष्ठ र बाल यौन दुराचार मुद्दाका उत्तम भनिने दर्शन राईलाई रौतहट तथा ठगी मुद्दाका (थुनुवा) प्रेम पुरी, जबरजस्ती करणी मुद्दाका इन्द्र पौडेल र डाँका मुद्दाका सुवास विश्वकर्मालाई आज पर्सा कारागार पठाइएको जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“गलत नियतका साथ कैदीबन्दीहरूबीच समूह बनाएरै झगडा भएको रहेछ । उनीहरू सबैलाई एकैठाउँमा राख्दा ज्यान मर्नेसम्मको खतरा भएको थियो”, उहाँले भन्नुभयो, “झगडा साम्य पार्न एउटा समूहलाई घटनाका योजनाकारसहित सात जनालाई एक÷एक जना प्रहरीसहित दुई वटा सुमो गाडी रिजर्भ गरेर रौतहट र पर्सा कारागार पठाइएको छ ।”
साउन–१६ गते बेलुका ५ः३० बजे भएको झगडामा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रोहिनीबहादुर कार्की घाइते भएका छन् । सुवास विश्वकर्मा र सन्तोष परियारले प्रहार गरेको बेल्चाले लागेर घाइते बनेका कार्कीको देब्रे हात भाँचिएको छ ।
घाइते कार्कीलाई सोही राति जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको थियो । कार्कीको हातमा प्लाष्टर गरिएको छ । उपचारपछि डिस्चार्ज भएका उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
झगडामा सहभागी सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको समाचार स्रोतले जनाएको छ । कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केही छिनमै साम्य पारिएको कारागार शाखाले जनाएको छ ।
घटना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको थियो । कैदीबन्दीबीचमा झगडा भएको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो ।
सन्तोष र सुवासलाई पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट खोटाङ कारागार सारिएको थियो । उनीहरू दुवै जना कर्मा शेर्पाको समर्थनमा झगडामा सामेल भएको खुलेको जेलर आचार्यले बताउनुभयो । चौकीदार छनोटमा असन्तुष्टि जनाउँदै कर्मा शेर्पाको समूहले जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाएपछि झगडा भएको खुलेको जेलर आचार्यको भनाइ छ । कारागारभित्र प्रयोग हुने औजारको सुरक्षा गर्दै आएका नाइके रोहिनीबहादुर कार्कीलाई नियन्त्रणमा लिएर जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजनामा प्रतिरक्षा गर्दा झगडा भएको जनाइएको छ ।
कारागार शाखाले केही दिनअघि जबरजस्ती करणी मुद्दाका कैदीबन्दी देउकुमार राईलाई चौकीदार छनोट गरेको थियो । समाचार स्रोतका अनुसार देउकुमारको ठाउँमा पाँच महिनाअघि मात्र कैलाली कारागारबाट खोटाङ ल्याइएका कर्मा शेर्पाले आफू चौकीदार हुनुपर्ने दाबीसहित समूह बनाएर आक्रमणको प्रयास गरेको हो ।
यद्यपि, चौकीदार हुन कारागारभित्रकै कैदीबन्दीले गठन गरेको आन्तरिक समितिबाट सर्वसम्मत सिफारिस भएका कैदीबन्दी हुनुपर्ने कानुनी प्रावधान छ । सोही आन्तरिक समितिले सिफारिस गरेका कैदीबन्दीलाई जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले चौकीदार छनोट गर्ने प्रचलन रहेको जेलर आचार्यले जानकारी दिनुभयो ।
जेलर आचार्यका अनुसार चौकीदार हुन एक वर्ष सोही कारागारमा बसेको, राजस्व हिनामिना नगरेको तथा सबै कैदीबन्दीको मान्य व्यक्ति हुनुपर्दछ । कर्मा शेर्पा पाँच महिनाअघि मात्र कैलालीबाट जिल्ला कारागार ल्याइएकाले छनोट नगरिएको जेलर आचार्यले जानकारी दिनुभयो ।
महिला ३३ जना र पुरुष ६६ जना गरी ९९ जना कैदीबन्दी अटाउने क्षमताका जिल्ला कारागार खोटाङका हाल एक सय ४७ जना कैदीबन्दी रहेका छन् । विसं २०३१ मा स्थापना भएको जिल्ला कारागारको भवन ठेकेदारको लापरबाहीले निर्माण भएकै समयदेखि जीर्णावस्थामा सञ्चालन हुँदै आएको छ ।