सबै माओवादी घटक एकठाउँमा उभिनुपर्छः उपमहासचिव गजुरेल

0
20

बनियानी (झापा),

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

“विसं २०७० मा संविधानमा माओवादीको एजेण्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो, त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर संविधान निर्माण गरेका थियौँ । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको उहाँले उल्लेख गर्नुभयो । त्यस अवसरमा टाइसन केरुङले आफूसँगै समाजवादी युवासङ्घ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता, धर्म निरपेक्षता, पहिचानलगायत मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि हामी माओवादीमा प्रवेश गरेका हौँ ।”

पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकको राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउनुभयो ।

पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले पार्टीलाई सवल र मजबुद बनाउन निरन्तर लागिरहने बताउनुभयो । प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, धर्मशिला चापागाईँ, झापा संयोजक राजु आचार्य, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here