पर्यावरण संरक्षण गर्न झापामा धमाधम वृक्षारोपण गरिँदै

0
20

झापा,

झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।

पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत लिच्ची, आँप, कागती, जामुनलगायत बिरुवा रोपिएका छन् । अभियानमा दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति सहभागी छन् ।

कोशी प्रदेश वन मन्त्रालय र डिभिजन वन कार्यालय उदयपुरबाट बिरुवा अनुदानमा ल्याएको र केही बिरुवा पार्टीले आफ्नै खर्चमा खरिद गरेर वितरण गरेको जनाइएको छ । डिभिजन वन कार्यालयले यस वर्ष चार लाख ४० हजार बिरुवा वितरण गरिने बताएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुङ्गा, भद्रपुर र हल्दीबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा धमाधम वितरण भइरहेका बताउनुभयो ।

वन कार्यालयले लिच्ची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुसुम, कदम, कल्कीलगायत फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको छ । शिवसताक्षी–६ र मेचीनगर–४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । मेचीनगरको एक लाख र शिवसताक्षीको पाँच लाख बिरुवा रोप्ने लक्ष्य छ ।

अभियानअन्तर्गत अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकीलगायत रुख तथा छाँयादार फलपूmलका बिरुवा रोपिएका छन् । बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भएनभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएका छन् ।

राष्ट्रिय युवासङ्घले यस वर्ष ३० हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको सङ्घकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेले बताउनुभयो । हालसम्म २५ हजार बिरुवा रोपिसकेको उहाँले बताउनुभयो । सहिद नेत्र उद्यानमा एक हजार छ सय सुपारीका बिरुवा, सुखानी सहिद उद्यानमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका उहाँले जानकारी दिनुभयो ।

मेचीनगर–४ को प्रकृति उद्यानमा वृक्षारोपण गर्न सामाजिक संस्थाहरूको लर्को नै लाग्ने गरेको छ । मेचीनगर प्रेस क्लब, वान नेपाल, रोटरी क्लब, जेसिजलगायत संस्था बिरुवा बोकेर वृक्षारोपणका लागि प्रकृति उद्यान आउने गरेका वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले यस वर्ष उद्यानमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here