अर्जुनधारा–जग्गादातासँगको सहमति कार्यान्वयन गर

0
90

धेरैपछि आज एउटा कथा भन्न मन लागेको छ, त्यसको एउटा पात्र आफै पनि भएको छु । र, त्यस कथाभित्रको भावावेश सक्षम पात्रहरुबाट कसैको भावनामा कति धेरै चोट पुगेको छ भन्ने सन्दर्भको । गणतन्त्र प्राप्तिपछि सरकारले स्थानीय निकायहरुलाई स्थानीय तह बनाउने भयो । गाविसहरु मिलाएर नगरपालिका बनाउने कुरा चल्न थाल्यो । म बसेको शनिश्चरे गाविस र छिमेकी अर्जुनधारा गाविस मिलेर नगरपालिका बन्ने भयो । यी दुई गाविस अलग जस्तो देखिए पनि एउटै जस्तै थिए पहिलाबाटै । किनभने बजार साझा थियो, प्रहरी चौकी साझा थियो, यातायातको सुविधा उपभोगको स्थान साझा थियो, विद्युत प्राधिकरणको कार्यालय एउटै थियो, उपचार गर्ने स्वास्थ्य केन्द्र एउटै थियो ।

अरु थुप्रै कुराहरु एउटै थिए । अझ युवाहरुले बनाउने क्लबहरुमा पनि शनिश्चरे र अर्जुनधाराको साझा नाम र खेलाडीहरु हुन्थे । त्यसैले दुबै तर्फका बौद्धिक व्यक्ति, राजनीतिक दल लगायत सर्वपक्षीय भेलाबाट नयाँ नगरपालिका जन्मियो, जसको नाम रह्यो– शनिअर्जुन नगरपालिका ।

मैले उठाउन खोजेको विषय यसपछिको हो

नगरपालिका बनाउन एकजुट भएकाहरुको छाती मिल्यो, मन मिलेन । नगरपालिकाको मूल कार्यालय कहाँ राख्ने भन्ने प्रसङ्ग चल्यो । दुई गाविस तर्फकाहरु बीच खिचातानी भयो । साविक शनिश्चरे गाविसको भवन अत्यन्तै साँघुरो भएकाले अर्जुनधारातर्फको भवनलाई कार्यालय बनाउने भनियो, सोही अनुरुप भयो । त्यसमा अर्जुनधाराबासीले जीतेको महशुस गरे, शनिश्चरे तर्फकाले हारेको अनुभूति गरे ।

शुरुमा केही असज भएको लागे पनि कार्यालयले आफ्नो काममा गति लियो । त्यसबेला जनप्रतिनिधि निर्वाचित भएका थिएनन् । राजनीतिक दलका प्रतिनिधिहरुबाट बनेको संयन्त्रबाट निर्णय गराएर प्रमुख प्रशासकीय अधिकृतले नै स्थानीय तह सञ्चालन गर्थे । अर्थात् स्थानीय तह सञ्चालनको पूर्ण जिम्मेवारी कर्मचारीहरुमा नै थियो । ठीक त्यहीबेला नगरपालिका सञ्चालनका लागि एउटा पूर्ण सुविधायुक्त भवन बनाउने पैसा प्राप्त हुने भयो । त्यो पैसाले एकाएक शनिअर्जुन नगरपालिका तरङ्गित भयो । समस्या शुरुवात् भयो– भवन कहाँ बनाउने ?

साविक अर्जुनधारातर्फका बुद्धिजीवि, राजनीतिक दलहरुको राय थियो कि वर्तमान चलिरहेको भवन भत्काएर त्यही स्थानमा नयाँ भवन निर्माण गर्ने । शनिश्चरे तर्फका राजनीतिक दल, बुद्धिजीविहरुको भनाइ थियो कि त्यो पाँच–छ कठ्ठा जग्गा भएको स्थानले भविष्यमा स्थान अभावले समस्या पैदा गर्छ, त्यसैले नयाँ ठाउँको खोजी गर्नुपर्छ ।

अझ त्यसमाथि पनि माओवादी द्वन्द्वकालमा अर्जुनधारा गाविस भवनमा आगजनी गरेर पुरानो संरचनालाई क्षति पु¥याइएकाले नयाँ भवन निर्माण भएको थियो । त्यही परिसरमा उपस्वास्थ्य शाखाको नयाँ भवन बनेर सञ्चालनमा थियो । यदि नयाँ भवन निर्माण गर्ने भए ती सबै संरचना भत्काउनुपर्ने भएकाले पनि नयाँ स्थानको खोजी गर्नुपर्छ भन्ने एक पक्षको बलियो तर्क थियो ।

त्यसैले साविक दुई गाविसका पक्षधरहरु बीच तानातान शुरु भयो । त्यति मात्र होइन, सार्वजनिक स्थानहरुमा तर्क–वितर्क, आग्रह–पूर्वाग्रहहरु शुरुवात् भयो । शनिश्चरे तर्फकाहरुले शनिश्चरे बजार पूर्व (हाल नगरपालिका रहेको स्थान) प्रकाश बुढाथोकी र भरत बुढाथोकीबाट नगरपालिकाको भवन निर्माणार्थ दश कठ्ठा जग्गाका लागि अनुरोध शुरु भयो । उहाँहरुले पाँच कठ्ठा दिने हुनु भयो ।

पाँच कठ्ठा जग्गा अभाव हुने भएकाले केही सर्त सहित दश कठ्ठाको लागि अनुरोध गरियो । त्यो सर्त थियो– नगरपालिका परिसरभित्र नगरपालिकाले आफ्नै स्रोतबाट दाताहरुको माता–पिताको सालिक स्थापना गरिदिने । पुर्खाले आर्जेको सम्पत्ति उहाँहरुकै सम्मान हुने भएपछि बुढाथोकी परिवार जग्गा दिन राजी भयो । यस विषयमा राजनीतिक दलहरु एकमत भए ।

जग्गा प्राप्ति हुने भएपछि अर्जुनधारा तर्फबाट त्यसको विकल्पमा पनि जग्गाहरु खोज्न थालियो । नगरपालिका भवन जसरी भए पनि आफ्नै भुगोलतर्फ राख्ने भन्ने सोच अघि बढ्यो । केही जग्गाको विकल्पहरु आए, तर बुढाथोकी परिवारले दिएको जग्गा जत्तिको पायक अरु देखिएन । तथापि दश कठ्ठा जग्गा दिने दाता निस्किए भन्ने भएपछि बुढाथोकी परिवारमा एक प्रकारको अपमान जस्तो महसुस भयो । त्यो परिवारले नै धेरै अघि जग्गा दिएर शनिश्चरे मावि स्थापना गरेको थियो ।

धेरै खिचातानी भएपछि एकदिन दाइ प्रकाश बुढाथोकीसँग मेरो लामो सम्वाद भयो । त्यस संवादपछि उहाँले आफ्नो इज्जतको लागि थप पाँच कठ्ठा गरी जम्मा पन्ध्र कठ्ठा जग्गा नगरपालिकालाई दिने हुनु भयो । त्यो निर्णय गरेकै क्षण मेरो बाइकमा चढेर उहाँ र म नगरपालिका पुग्यौं ।

त्यसबेला प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो– रुद्र न्यौपाने । उहाँकै कार्यकक्षमा बसेर नगरपालिकालाई पन्ध्र कठ्ठा जग्गा दिन इच्छुक रहेको प्रकाश बुढाथोकीको इच्छापत्रसहितको निवेदन मैले लेखिदिएँ, उहाँले हस्ताक्षर गरेर बुझाइयो ।

पन्ध्र कठ्ठा जग्गा प्राप्त हुने भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रले सो कुराको निर्णय गर्यो । सो निर्णय अनुसार भवन निर्माण शुरुवात भयो । बिस्तारै नगरपालिकाको क्षेत्र बृद्धि भयो । खुदुनाबारी गाविस समेत मिसिएपछि शनिअर्जुनबाट फैलिएर अर्जुनधारा नगरपालिका बन्यो । सो नगरपालिकाको कार्यालयले हाल बुढाथोकी परिवारले लामो रस्साकस्सी र स्वाभिमान महशुस गरेर दिएको जमिनमाथि खडा छ ।
भौतिक कथा लगभग सकियो । यसबीचका रस्साकस्सीका ठूलो कथा बाँकी छ । तर, भावनात्मक कथा यहींबाट शुरु हुन्छ । जग्गा दिने र लिने समाजबीच एउटा सहमति थियो– ‘नगरपालिका परिसरभित्र नगरपालिकाले आफ्नै स्रोतबाट दाताहरुको माता–पिताको सालिक स्थापना गरिदिने ।’

त्यो सहमति भएको दशौं बर्ष बितिसक्यो । यसबीचमा शनिअर्जुन नगरपालिकाबाट अर्जुनधारा नगरपालिका भयो । त्यसबेलाका सहमतिकर्ताहरु साविक शनिश्चरे तर्फका हरिकुमार राना नगरपालिकाको पहिलो नगरप्रमुख हुनु भयो । त्यसपछि हाल बलदेव गोम्देन नगर प्रमुख हुनुहुन्छ । तर, सहमति गर्ने राजनीतिक दलहरु हराएर गएका छैनन् । सहमति गर्ने व्यक्तिहरु मरेर सकिएका छैनन् । तर, उनीहरु किन आफ्नै निर्णय कार्यान्वयन गर्न उदासिन देखिए यो बढो आश्चर्य छ ।

जग्गा प्रदान गर्ने इच्छापत्रको निवेदन लेख्ने कलमीको हैसियतले प्रकाश बुढाथोकीको मुहार जब म देख्छु, आफूलाई आत्मग्लानीले पगालेर तरल बनाइ दिन्छ । जब उहाँले मलाई प्रश्न गर्नुहुन्छ, ‘खै त तपाईहरुले आफ्नै बचनको लाज राखेको ?’ भनेर । मलाई राजनीति दलका अगुवाहरुलाई कालोमोसो दलिदिउँ र नगर प्रमुखको कुर्सी ल्याएर सडकमा मिल्काइदिउँ जस्तो लाग्छ । जसको छातीमा टेकेर रजाइँ गरिरहेका छन् जनप्रतिनिधिहरु, उसको सम्मान गर्न सक्दैनन् भने उनीहरुले प्रतिनिधि हुँदा लिएको सपथको सम्मान कहाँ भयो र ?

धेरै भो अब । हिजो प्रकाश बुढाथोकीसँग सहमति गर्दाको निर्णय कि अब कार्यान्वयन हुनुपर्छ । कि त हामी सहमति कार्यान्वयन गर्न सक्दैनौं भनेर उहाँको जमीन फिर्ता गर्ने प्रक्रिया अगि बढाउनुपर्छ । राजनीतिक दल, बुद्धिजीविहरु र स्वयम् नगरपालिका समेत यस विषयमा नबोल्ने हो भने यो भन्दा ठूलो भ्रष्टाचार के हुन्छ ?

सभ्य समाज, विवेकशील दलहरु र विश्वास योग्य सरकारका लागि यस्ता साना कुराहरुले दीर्घ असर गर्छ । आफ्नो करोडौंको सम्पत्ति दिन मञ्जुर गर्नेहरुलाई समाजले सम्मान गर्नुपर्छ र उहाँहरुसँग गरिएका सहमतिहरुको कार्यान्वयन यथाचाँडो हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here