सन्दकपुरमा व्यवसायिक किवी खेती

0
34

बिर्तामोड ।

इलामको सन्दकपुर–२ मा व्यवसायिक रुपमा किवीखेती शुरु भएको छ । सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रा.लि.ले सन्दकपुरमा तीन सय रोपनी क्षेत्रफलमा किवी तथा लोड सल्लोको बिरुवा रोपिएको जनाएको छ । एक सय ५० रोपनीमा किवीखेती शुरु भएको र वार्षिक पाँच हजार केजी उत्पादन भएको जनाइएको छ ।

किवीको उत्पादन दर वर्षेनि रुपमा बढ्ने गरेको जनाइएको छ । वेरोजगार युवालाई रोजगार कृषिलाई उद्यमशिलता र उद्यमशिलतालाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ प्रा.लि.ले कृषिखेती शुरु गरेको कम्पनीका अध्यक्ष सिपी कडरियाले जानकारी दिए । बाझो जमिनलाई सदुपयोग गर्दै कृषि क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले इलाममा व्यवसायिक रुपमा किवीखेती शुरु भएको अध्यक्ष कडरियाको भनाइ छ । उनले भने– ‘वैदेशिक रोजगार अन्तर्गत रेमिट्यान्सबाट नेपालको जिडिपीको २० प्रतिशत धानेको छ भने कृषिले २४ प्रतिशत धानेको छ ।’

यस्तो अवस्थामा कृषिलाई सरकारले प्राथमिकता दिने हो भने जिडिपीको दर समेत बढाउन सकिने उनको भनाइ छ । साडे तीन करोड रुपैयाँ लगानी गरेर २०७२ सालबाट शुरु भएको खेतीबाट गत वर्षदेखि उत्पादन शुरु भएको जनाइएको छ । ३५ वर्षदेखि ५० वर्षसम्म किवीले उत्पादन दिने र प्रतिबोट दुई हजारभन्दा बढी फल उत्पादन हुने जनाइएको छ । वार्षिक रुपमा एक हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको कम्पनीमा सात जनाको लगानी रहेको अध्यक्ष कडरियाले जानकारी दिए ।

एक सय ५० रोपनी क्षेत्रफलमा करिब २५ सय बिरुवा रोपिएको अध्यक्ष कडरियाको भनाइ छ । उनले प्रविधिको बिस्तार गर्दै यसलाई प्रबद्र्धन गर्न सकिएमा विदेशबाट लाखौं रुपैयाँमा आयात भइरहेको किवी नेपालमा नै उत्पादन भएको किवीले धान्ने उनको भनाइ छ । नेपालमा किवीलाई भण्डारण गर्ने प्रविधि नभएको तथा बजारसम्म पु¥याएर लामो समय राखेर बिक्री गर्न समेत समस्या भएकाले सिजनमा मात्रै किवी बेच्नु परेको उनको भनाइ छ । एक सिजन मात्र किवी बिक्री गर्दा किसानले उचित मूल्य नपाउने गरेको उनको भनाइ छ । त्यसैले नेपालमा किवीलाई व्यवसायिक रुपमा बिस्तार गर्न कोल्डचेन आवश्यक रहेको अध्यक्ष कडरियाको भनाइ छ ।

नेपालको किवीमा पोलिनेशन (गर्भाधान) विधिको विकास नभएको उनको भनाइ छ । माहुरी र हावाको भरमा परागसेचनका लागि निर्भर हुनुपरेको र अब परागसेचनका लागि अन्य प्रविधि समेत नेपालमा भित्र्याउन आवश्यक रहेको उनको भनाइ छ । नेपालमा किवीखेतीको प्रशस्त सम्भावना रहेको र पूर्वी जिल्ला इलाम उक्त खेतीका लागि उपयुक्त रहेको जनाइएको छ । यहाँ उत्पादित किवीले नेपालका विभिन्न बजारहरुमा आफ्नो उत्पादन पु¥याउने लक्ष्य रहेको जनाइएको छ । राज्यले हालसम्म कुनै सहयोग नगरे पनि आफूहरुले व्यवसायिक रुपमा कृषिखेती शुरु गरेको उनको भनाइ छ । उनले भने– ‘राज्यले अनुदान होइन व्यवसायिक कृषि गर्नेलाई सहुलियत दरमा ऋण दिनुपर्छ ।’

कतिपय व्यक्तिले कृषि अनुदानकै लागि कृषि गर्ने गरेका कारण यसप्रति नकारात्मक भाव बढेकाले अनुदान बन्द गर्नुपर्ने अध्यक्ष कडरियाको भनाइ छ । राज्यले बजार नीति तथा कृषि प्रविधिमा जोड दिएमा नेपाल कृषिजन्य वस्तुमा आत्मनिर्भर हुँदै विदेश निर्याततर्फ समेत अब्बल हुने अध्यक्ष कडरियाले बताए ।

नेपालमा नै किवीलाई प्रशोधन गर्न सक्ने अवस्था रहेमा यसबाट विभिन्न परिकारहरु बजारमा पु¥याउन सकिने उनको भनाइ छ । उनले अब सबै राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्तालाई कृषि उद्यमशिलतामा जोड्न आवश्यक रहेको बताउँदै राज्यले समेत यसतर्फ ध्यान दिन जरुरी रहेको अध्यक्ष कडरियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here