बंगलादेशले दिएको शिक्षा

0
10

बंगलादेशमा विकास भएको राजनीतिक घटनाक्रमले छिमेकी देशहरुमा तरंग उत्पन्न गराएको छ । आरक्षणको विषयलाई प्रमुख मुद्दा बनाएर आन्दोलन गरिरहेका विद्यार्थीले उक्त व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए । त्यहाँको मुक्ति योद्धाका सन्तान दरसन्तानलाई दिइँदै आएको ५६ प्रतिशत आरक्षणको व्यवस्था हटाउन माग गर्दै आएका आन्दोलनकारीको दवावको सामना गर्न नसकी प्रधानमन्त्री शेख हसिना देशबाटै भागेकी छन् । प्रधानमन्त्री हसिनाले देश छाडेपछि सेवा प्रमुख वाकेर उजमनले आन्दोलनमा मारिएकाप्रति न्याय हुने भन्दै हिंसात्मक आन्दोलन रोक्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री हसिना राजीनामा दिएर देश छाडेर हिँडेपछि पनि त्यहाँको बिद्रोहको अन्त्य भएको छैन । आन्दोलनकारीले विजय–उत्सव मनाउँदै मुक्ति संग्रामका नेता शेख हसिनाका पिता शेख मुजिबुर रहमानको शालीक समेत तोडफोड गरे यत्तिले पनि बिद्रोह अन्त्य भएन, उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरी त्यहाँका सम्पूर्ण सामग्री लुटपाट गर्दै सडक प्रदर्शनमा समेत लागीरहे । पाकिस्तानबाट अलग गराइ बंगलादेशलाई स्वतन्त्र बनाउन हसिनाका पिता रहमानको प्रमुख भूमिका थियो । उनको बंगलादेशको स्वाभिमान र आत्मनिर्भरताको सपनालाई पूरा गर्न हसिनाको पनि ठूलो योगदान थियो । १५ वर्षसम्म एकछत्र शासन गरेकी हसिनाको पतनको जिम्मेवार उनकै सत्ता उन्माद चरित्र हुन पुग्यो । विपक्षीहरुको तेजोबध गरेर आफूलाई शक्तिशाली सावित गर्ने महत्वाकांक्षा नै उनको पतनको कारण बन्यो ।

त्यसो त निरंकुशताको अन्त्य अनपेक्षित नै हुन्छ यो इतिहासले प्रमाणित गरेको सत्य हो । सत्ता र शक्तिको उन्मादमा प्रतिपक्षीहरुलाई दबाएर राख्ने मानसिकताले नै यस्तो दुष्परिणाम ल्याउने हो । बंगलादेशको आर्थिक तथा भौतिक विकासमा अभूतपूर्व उपलब्धी हासिल गरे पनि त्यही समयमा भएका ठूला भ्रष्टाचारको आरोपको सामना गरेकी हसिनाको सत्ता पलायन सत्तामा टिकिरहन खोज्ने संसारका सबै दलहरुका लागि शिक्षा हुनसक्छ । आरक्षणको विषयले भएको बंगलादेशको हिंसा र परिणाम लोकतान्त्रिक पद्धतिको खोल ओडेर अधिनायकवादीतर्फ उन्मुख सत्ताका नेतृत्वलाई र दलहरुलाई यो घटनाले सचेत गराउनुपर्छ । अन्यथा अङ्कगणितमा बनिने सत्ता र शासकहरुको अवसार यसरी नै हुन पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here