माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

0
55

बिर्तामोड । 

माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच सहकार्य भएको छ ।

इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)बाट अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेशन लोन उपलब्ध गराउने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो । झापामा नेपाल शैक्षिक परामर्श संघ इक्यानले पहिलो पटक बैंकसँग सम्झौता गरेको हो ।

माछापुच्छ्रे बैंक तथा इक्यान झापाबीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए । सो सम्झौतापश्चात विद्यार्थीका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्ने बताइएको छ । यस सम्झौता अन्तर्गत बैंकले इक्यान सदस्य संस्था तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम् शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै माछापुच्छ्रे बैंकका एजीएम बिजनेस प्रमुख भरतकुमार लम्सालले नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक प्रतिबद्घ रहेको उल्लेख गरे । सम्झौतामा इक्यान झापाका अध्यक्ष सुवेदी र बैंकका तर्फबाट लम्सालले हस्ताक्षर गरेका हुन् ।

इक्यानमा हालसम्म २९ वटा कन्सल्टेन्सीहरु आवद्ध रहेको र उनीहरुले माछापुच्छ्रे बैंक मार्फत आफ्ना विद्यार्थीलाई एजुकेशन लोनका लाागि गरिने प्रक्रियामा बैंकले सबै प्रक्रियामा सहयोग गर्ने सहमति भएको छ । बैंकले इक्यानसँगको परामर्शमा विद्यार्थी तथा अभिभावकहरुलाई एजुकेशन लोन लगायतका बैंकिङ कारोबारमा बारेमा प्रशिक्षण समेत सञ्चालन गर्ने माछापुच्छ्रे बैंककी एजुकेशन हब डिर्पाटकी प्रमुख सुधा शर्माले बताइन् ।

माछापुच्छ्रे बैंक ३१ वर्ष पुरानो बैंक भएको भन्दै यसले कानून र नियमसंगत रुपमा शैक्षिक परामर्शसँग मिलेर काम गर्न लागेको बैंकका कोशी प्रदेशका म्यानेजर कृष्णबहादुर साहले बताए । माछापुच्छ्रे बैंकका कोशी प्रदेशका म्यानेजर कृष्णबहादुर साहको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे बैंकका एजीएम बिजनेस प्रमुख भरतकुमार लम्सालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संथापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल, निवर्तमान अध्यक्ष मिलन ओली, इक्यान झापाका सल्लाहकार तथा बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली, माछापुच्छ्रे बैंकका डिल्लीराम गिरी, सुधा शर्मा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बैंकका डिल्लीराम गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बैंकका मनिष अधिकारीले गरेका थिए । कार्यक्रममा झापामा माछापुच्छ्रे बैंकका सबै शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो भने इक्यानमा आबद्ध शैक्षिक परामर्श व्यवसायीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here