मोरङ,
संखुवासभाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । दश स्थानीय तह रहेको क्षेत्रमा जिल्लाकै पहिलो सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्रको निर्माणको काम अघि बढेको हो ।हाल भवन निर्माणको कार्य धमाधम भइरहेको छ । पुस्ताकालय भवन साँढे ३ तलाको निर्माण हुनेछ । अहिले पहिलो तला ढलाई सकेर दोश्रो तलामा इट्टा जोड्ने काम भइरहेको छ ।
धर्मदेवी नगरपालिका ३ मुढेशनिश्चरेमा शान्ति भोलेन्टियर एशोसिएसन नेपाल, रिड नेपाल, धर्मदेवी नगरपालिका र द पिपुल अफ जापानको आर्थिक सहयोगमा २ करोड ४७ लाख ७ हजार ७ सय ७८ मा ठेक्का सम्झौता भई तीन तले धर्मदेवी सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र बन्न लागेको भवन निर्माण उप-समितिका संयोजक सुरेन बस्नेतले जानकारी दिए ।
सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम गर्न सकिने निर्माण समितिका अध्यक्ष भीम लिंखाले बताए।
समुदायका नागरिकहरुलालाई पठन संस्कृतिको विकास गर्ने लक्ष्य सहित पुस्ताकालयको स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिका वडा नं-३ का वडाध्यक्ष श्यामबहादुर पौडेलले बताए । पुस्ताकालयको लागि भवन निर्माणको काम सम्पन्न भइसकेपछि धार्मिक, साहित्यिक, राजनितिक, आर्थिक, सामाजिक तथा समय सान्दर्भिक विभिन्न खाले पुस्तक पढ्न पाइनेछ।
सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले बताए । नगरप्रमुख पौडेलका अनुसार लाइब्रेरी बहुआयमिक खालको निर्माण गर्न लागिएको बताउँदै सम्पन्न भए पश्चाल उक्त लाइब्रेरी युवामैत्री, महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिक मैत्री हुनेछ ।
सामुदायिक पुस्ताकालय भनेको मानवीय जीवनपर्यन्त सिक्ने वातावरण तयार गरिएको एक शैक्षिक संस्था भएकाले समाजमा रहेको विभिन्न व्यक्तिहरुलाई केही समय जम्मा भएर पुस्तक अध्ययन गर्ने, भलाकुसारी गर्ने तथा स्थानीय स्तरका विभिन्न सूचनाहरुको जानकारी प्राप्त गर्ने साझा स्थान उक्त पुस्ताकालय हुने नगरप्रमुख पौडेलको भनाई छ । अब केही समयभित्र निर्माण सम्पन्न भएर पुस्ताकालय सञ्चालनमा आउने बताईएको छ ।