सुरूङ्गाका युवाद्वारा समाजसेवाको घोषणा

0
12

सुरूङ्गा ।

कनकाई नगरपालिका सुरुंगामा विगत १६ वर्षदेखि सुरुङ्गा एण्ड दोमुखा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका सूर्यप्रसाद चौलागाइँले तीनवटा क्षेत्रमा सामाजिक कार्य गर्ने घोषणा गरेका छन् ।

कनकाई नगरपालिकाभित्र रहेका विपन्न, आदिवासी जनजाति समुदायका युवाहरूलाई निःशुल्क ड्राइभिङ तालिम दिने, सडक दुर्घटना परेकाहरूलाई अस्पतालसम्म पुर्याउन निःशुल्क गाडी उपलब्ध गराउने र आपतकालीन समयमा आइपर्ने रगत अभावलाई पूर्ति गर्न रक्तदाता समूह गठन गर्ने चौलागाइँले घोषणा गरेका हुन । बिहिबार आफ्नै कार्यालयमा पत्रकार भेटघाट आयोजना गरेर तीनवटा क्षेत्रमा मानवीय सेवाभावले काम गर्ने चौलागाइँले घोषणा गरेका छन् ।

निः शुल्क ड्राइभिङ तालिमतर्फ हरेक वर्ष १२ जनालाई तालिम प्रदान गरिने छ । सामाजिक क्षेत्रमा कार्यरत संस्था कारितास नेपालले लक्षितवर्गबाट छनौट गरेर सिफारिस गरेका युवाहरूलाई तालिम प्रदान गरिने र उक्त तालिमका लागि जम्मा ३ लाख रुपैयाँ बराबरको तालिम सुविधा उपलब्ध हुने चौलागाइँले बताए ।

तालिमप्राप्त युवालाई रोजगारी उपलब्ध गराउन आफ्नो तर्फबाट कोशिस गर्ने चौंलागाईले बताए । सवारी दुर्घटनामा घाईते भएका व्यक्तिहरूलाई तत्काल अस्पताल पुर्याउनको लागि सार्वजनिक यातायातले बिरामीलाई अस्पताल लैजान नमान्ने, हिच्किचाहट गर्ने, बिरामी लैजान एम्बुलेन्स नै पर्खनु पर्दा समय लाग्ने भएकाले बिरामीले छिटो उपचार पाउन नसक्दा मृत्यु सम्म भएको घटना देखेर दुर्घटनामा परेका बिरामीलाई छिटो अस्पताल पुर्याउन सकियोस् भनेर मानव सेवाका लागि आफ्नो गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

त्यसैगरी बिरामीलाई ताजा रगत चाहिएको बेला रक्तदाता खोज्न धेरै समय लाग्ने र रक्त समूह यकिन गर्न पनि समस्या हुने गरेकोले आफ्नो ड्राइभिङ सेन्टरमा सशुल्क तालिम लिन आउने प्रशिक्षार्थीहरूको रक्त समूह परीक्षण गरेर आफूहरूले अभिलेख राख्ने गरेको हुँदा ताजा रगत चाहिएको अवस्थामा तिनै प्रशिक्षार्थीहरूलाई रक्तदान गर्नको लागि आग्रह र जानकारी गराइने चौलागाइँले बताए ।

पत्रकार भेटघाटको सञ्चालन अभिषेक मिश्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here