नाग पञ्चमीदेखि शुरु हुदै ‘लाखे नाच’

0
96

बिर्तामोड ।

नेवार जातिको धार्मिक संस्कृति, परम्परादेखि नै चलिआएको ‘लाखे नाच’ नाग पञ्चमीका दिनदेखि बिधिवत रूपमा शुभारम्भ गर्ने चलन छ ।

काठमाडौं उपत्यका लगायत नेवार समुदायको बसोवास रहेको अन्य बाहिरी जिल्लाहरूमा धार्मिक विश्वासका साथ नेवार समुदायले नाग पञ्चमीका दिन भिमसेन मन्दिरमा पूजाआजा गरी बिधिवत् रूपमा लाखे नाचको शुभारम्भ गर्दछन् ।

बिर्तामोड नगरपालिकामा पनि विगत लामो समयदेखि ‘लाखे नाच’ प्रदर्शन गर्दै आएको नेवाः संस्था नेवाः पासा मुना पुचःले आज बिहान बिर्तामोड–६ दास पुल नजिक अवस्थित भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा ‘लाखे’ नाचको शुभारम्भ गरिने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

नाग पञ्चमीदेखि शुभारम्भ गरिएको उक्त ‘लाखे नाच’ कृष्ण जन्माष्टमीको दिनसम्म बिर्तामोड नगरका बिभिन्न भागमा प्रदर्शन गरिने उनले बताए । भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्धन प्रमुख उद्देश्य राखेर काम गर्दै आएको संस्था नेवाः पासा मुना पुचः बिर्तामोडले पर्व लक्षित गरेर नेवाः छे भवन बिर्तामोडमा केही बर्ष यता बार्षिक रुपमा ‘लाखे नाच’ प्रशिक्षण आयोजना गदै आएको छ ।

पुरानाहरू हराउँदै जाने बैदेशिक रोजगार, अन्य विभिन्न कारणहरूले पलायन हुने समस्या ,पुरानालाई निखारता दिएर नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले वर्षै पिच्छे प्रशिक्षणको आयोजना गरिएको संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् । लाखे संरक्षक लक्ष्मी श्रेष्ठ र लाखे संयोजक प्रवीण शाक्यले महिना दिनसम्म सहजीकरण रहेको प्रशिक्षणमा जम्मा २५ मध्ये नेवार समुदाय बाहेक अन्य समुदायका ५देखि ७ युवाहरु सहभागी रहेको लाखे संयोजक तथा प्रशिक्षक शाक्यले बताए ।

महिला समेतको सहभागिता रहेको प्रशिक्षणले राम्रो कलाकारहरु उत्पादन गरेको शाक्यको भनाइ छ । प्रशिक्षणमा सहभागीहरुले नै भोलिदेखि शुभारम्भ गरिने ‘लाखे नाच’ नाच्ने छन् । पछिल्लो समय लाखे नाच सबै माझमा लोकप्रिय बन्दै गएको छ ।

यस अघि नेवाः पासा मुना पुचःले नेवार जातिको शुभकार्यमा बजाइने ‘धिमेबाजा’ र ‘नृत्य’ प्रशिक्षण दिएको थियो । धिमे वाजा र नृत्य प्रशिक्षण लिएका युवाहरुले लाखे नाच सहयोग पुर्याइरहेको आयोजकको भनाइ छ । यसपटक लाखे नाच प्रदर्शनीका क्रममा धिमे नृत्य पनि प्रदर्शनी हुने भएको छ ।

नाग पञ्चमीका दिन विधिवत् रूपमा शुभारम्भ गरिएको लाखेलाई अन्यत्र ठाउँ अनुसार कृष्णजन्माष्टमीका दिन विधिवत् रूपमा समापन गर्ने चलन भए नेवाः पासा मुना पुचः बिर्तामोडले कृष्णा जन्माष्टमीको भोलिपल्ट नेवाःछे भवनमा विधिवत् रूपमा समापन कार्यक्रम रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here