युवा कवि सिजन श्रेष्ठकाे कवितासङ्ग्रह “हावामा अल्झिएकाे स्वर” लाेकार्पण

0
26

मोरङ,

युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” को लोकार्पण गरिएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गर्नुभयो।

५३ वटा कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण र वैज्ञानिक समेत रहेको टिप्पणी गर्नुभयो।

कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा अत्यन्तै सुन्दर शब्द संयोजन र अर्थ पाइन्छ। उनको लेखनशैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध र मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ। श्रेष्ठ अध्ययनशील र परिश्रमी कवि हुन् जसले निरन्तर आफ्नो सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गर्दछन्।

आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको कुरा कवि श्रेष्ठले बताउनुभयो। उहाँले “हावामा उबेला अभिव्यक्त गर्न नसकिएको स्वर नै यो कृतिमा राखिएको” बताउनुभयो। पारिवारिक परिवेश र बुवाआमाको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै, प्रकृतिसँग नजिक हुन रुचाउने र प्रकृतिसँग बोल्ने आफ्नो स्वभावले गर्दा कृतिमा प्रकृतिप्रतिको माया उजागर भएको श्रेष्ठले बताउनुभयो। यसका अलावा गरिबी र परदेशिनुको पीडालाई पनि यहाँ समावेश गरिएको छ।

लाेकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा लगायत प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो।

कार्यक्रमको आयोजना सुकुना बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले गरेको थियो भने समितिका संयोजक विदुर सुवेदीले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रम सञ्चालन भने अनिल पोखरेलले गर्नुभएको थियो।

कवितासङ्ग्रहको प्रकाशनले नेपाली साहित्य जगतमा एक नवीन र प्रतिभाशाली कविको उदय भएको सहभागीले बताएका थिए । श्रेष्ठको यो कृतिले पाठकहरूलाई नयाँ दृष्टिकोण र गहन अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको साहित्यकारहरू बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here