स्वच्छ र स्वस्थ समाजका लागि राजयोग मेडिटेशन शिविर

0
18

बिर्तामोड । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको आयोजनामा आध्यात्मिक सशक्तिकरणद्वारा स्वच्छ र स्वस्थ समाजका लागि राजयोग मेडिटेशन शिविर सम्पन्न भएको छ ।

बिर्तामोड–४ स्थित ओमशान्ति टोलका बासिन्दालाई लक्षित गरी आयोजित पाँच दिने शिविरको शुक्रबार राति समापन भएको छ । स्थानीय एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको मेडिटेशन शिविरमा अर्जुन थपलियाले प्रमुख प्रशिक्षण दिएका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडकी रञ्जनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी, ओमशान्ति विकास संस्थाका अध्यक्ष शिव थपलिया लगायतले मन्तव्य राखेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडकी प्रमुख पूर्णिमाले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट दुर्गा थपलिया, उत्तम पकुवाल, ऐश्वर्या पाण्डे लगायतले आफ्नो अनुभव सुनाउँदै मेडिटेशन शिविरले आफूलाई चिन्ने र अघि बढ्ने शिक्षा प्राप्त गरेको बताए ।

कार्यक्रमका अतिथि तथा सहभागीहरुले स्वास्थ्य र मानव जीवनलाई सार्थक बनाउन राजयोग मेडिटेशन अत्यावश्यक भएकोमा जोड दिए । आयोजकले मेडिटेशनका लागि नियमित रुपमा आश्रममा आउन सबैमा आग्रह समेत गरेको छ । मानिसहरुमा बढ्दो तनाव र निराशाबाट छुटकारा लिइ सहज र खुशी जीवनयापनका लागि मेडिटेशन मानव जीवनकै अभिन्न अंग बन्दै गएको सो अवसरमा बताइयो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडले विभिन्न समयमा विशेष मेडिटेशन शिविर सञ्चालन गर्दै आएको छ भने दैनिक नियमित शिविर पनि सञ्चालन हुँदै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here