झापामा भरुवा बन्दुक र चोरीका सामानसहित तीन जना पक्राउ

0
65

झापा ।

झापामा भरुवा बन्दुक र चोरीका सामानसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बू, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आदित्यको साथबाट चाँदीको एक थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड, छिरिङको साथबाट चाँदीको औँठी २ थान, चाँदीको पाउजु–२ थान र चाँदीको सिक्री–१ थान, एनसेलको रु ५० दरको रिचार्ज कार्ड ५–थान र निखिलको साथबाट १ थान चाँदीको सिक्री बरामद गरिएको डीएसपी चन्दले बताए ।

प्रहरीले छिरिङको घरबाट लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक समेत फेला पारेको उनले बताए । गत साउन २५ गते राती साढे १० बजेको समयमा अर्जुनधारा–७ स्थित मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ देवान चोकमा बसोबास गर्ने ती युवाहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here