शान्ति सामुदायिक वनको ‘एक उपभोक्ता एक ग्याससहितको सिलिण्डर’ अभियान प्रभावकारी

0
10

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा–२ रातेस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले विगत छ वर्षदेखि सञ्चालन गरेको “एक उपभोक्ता एक ग्याससहितको सिलिण्डर” अभियान प्रभावकारी भएको छ ।

तत्कालिन् समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाको पहिलो कार्यकालमा ३६ जना अति विपन्न उपभोक्तालाई निःशुल्क ग्याससहितको सिलिण्डर वितरण गर्दै शुरु भएको उक्त अभियान प्रभावकारी भएको हो ।

दाउरा संकलनको नाममा वन क्षेत्रमा हुन सक्ने सम्भावित चोरीतस्करीबाट वन क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्र्तगत हालसम्म सात सय १३ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए ।

समूहको स्वीकृत वार्षिक निती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७५/०७६देखि नै नियमित रुपमा सञ्चालन हुँदै आएको कार्यक्रम वातावरणमैत्री भएको हुँदा वन क्षेत्रको संरक्षणसँगै उपभोक्ताहरुको भान्साघरलाई धुँवामुक्त बनाउन पनि मद्दत पुगेको अध्यक्ष कोइरालाले दावी गरे ।

गत माघमा सम्पन्न भएको निर्वाचनको तथ्याङ्क अनुसार समूहको जम्मा उपभोक्ता आठ सय ६३ जना मध्ये बाँकी एक सय ५० जनालाई पनि चालु आर्थिक वर्ष ०८१÷०८२को वार्षिक निती तथा कार्यक्रममार्फत् ग्याससहितको सिलिण्डर वितरण गर्ने समूहको तयारी रहेको छ ।

सकारात्मक उद्देश्यले आफ्नो कार्यकालमा शुरु भएको कार्यक्रमलाई नव निर्वाचित कार्यसमितिले निरन्तरता दिएकोमा समूहका निवर्तमान अध्यक्ष खतिवडाले खुशी व्यक्त गरे । दुई कार्यकाल समूहका अध्यक्ष रहेका खतिवडाले समूहले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैबिच समूहले सोमबार एक कार्यक्रमकोबिच एक सय जना उपभोक्तालाई ग्याससहितको सिलिण्डर वितरण गरेको छ । गत आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत वार्षिक निती तथा कार्यक्रममा उल्लेख भए अनुसार जम्मा दुई सय जनामध्ये वितरण गर्न बाँकीलाई उक्त ग्याससहितको सिलिण्डर वितरण गरिएको हो ।

समूहले नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको सभाहलमा ७१ जना उपभोक्ता र समूहको कार्यालय रहेको सभाहलमा २९ जनालाई ग्याससहितको सिलिण्डर वितरण गरेको समूहका सचिव नरेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

समूहका अध्यक्ष कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–२का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले उपभोक्ता मणिलाल मगरलाई ग्याससहितको सिलिण्डर हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा सदस्य प्रेमबहादुर उपरकोटी, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारी, समूहका निवर्तमान अध्यक्ष खतिवडालगायतले मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवा लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here