सतासीधाममा ८७ जलधारा परीक्षण

0
11

सतासीधाम ।

पूर्वकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सतासीधाममा ८७ वटा धाराको पहिलो परीक्षण सम्पन्न भएको छ ।

मुक्तिनाथ धामको अवधारणामा निर्माण शुरु गरिएको ८७ वटा धारा निर्माण सम्पनन भएर चालू भएपछि विशेष दिनहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरु दोब्बर बढ्ने बताइएको छ । दैनिक रुपमा आउने श्रद्धालु भक्तजनहरु पनि अन्य दिनभन्दा दोब्बर बढ्दै जाने अनुमान गरिएको छ ।

माङ्हिम, बौद्ध स्तुपा, जलधारा, झरना, बिरे नुन पानी, रमिते सेल्फी डाँडाका कारण पनि आगन्तुकहरुको वृद्धि हुँदै गइरहेको छ । सतासीधाम धार्मिक तथा पर्यटन विकास समितिका सदस्य तथा सतासी खोला संरक्षण ८७ धारा निर्माण उपभोक्ता संयोजक डिकबहादुर बुढाथोकीले जानकारी दिए अनुसार मुख्य मन्दिरको पूर्वपट्टि झरना जाने बाटोमा पहिला पनि नुहाउने धारा भएको र भक्तजनहरुले त्यस्तो धाराको आवश्यकता भएको गुनासो आएपछि ८७ वटा धारा निर्माणसँगै सतासीधामको मुख्य मन्दिर संरक्षण गर्नुपर्ने भएकोले एकैपटकमा दुईवटा काम गरेको बताए ।

धेरै मठमन्दिर र धामहरुमा सबै किसिमको संरचना भए पनि सतासीधाम एउटा पौराणिक इतिहास बोकेको क्षेत्र भएकाले सतासीधाम जस्तो अरु नभएको भन्दै सबैलाई सतासीधाममा आउन अनुरोध गरे । संयोजक बुढाथोकीले ८७ वटा धाराको संरचना यो वर्षको बालाचतुर्दशी सम्ममा पूर्ण रुपले निर्माण सम्पन्न हुने र यो वर्ष ३०÷३५ हजार भक्तजनहरुको वृद्धि हुने अनुमान गरेका छन् ।

अन्दाजी ६० लाख रुपैयाँ लागत लाग्ने यो संरचना मयुरको मुख भएको ८७ वटा धारा जडान गरिएको छ । जसका लागि एक धारा बराबर २५ हजार रुपैयाँ दान दिन चाहनेका लागि दान खुल्ला गरिएकोमा हालसम्म एक सय जनाभन्दा बढीले धारा बापत २५ हजार रुपैयाँका दरले समितिलाई बुझाएका छन् । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार ८७ जलधारा निर्माणको लागि खानेपानी डिभिजन कार्यालय झापाले ६ लाख रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

निर्माण कम्पनीका ठेकेदार किशोरबहादुर मगरले जानकारी दिए अनुसार ८७ जलधाराको लम्बाइ ५२ मिटर रहेको छ भने उक्त क्षेत्रमा महिला तथा पुरुषहरुका लागि छुट्टाछुट्टै लुगा फेर्ने कोठा र त्यसको उत्तरपट्टि जलकुण्ड दर्शनार्थीका लागि डुबुल्की मार्ने पोखरीसमेत निर्माण भइरहेको बताए । मुख्य मन्दिर क्षेत्र भू–क्षयबाट बचाउने उद्देश्यले सेटवाल लगाउने र उक्त वालमा भक्तजनहरु बस्ने प्यारापिट निर्माण गर्ने बताइएको छ । खोलादेखि जलधारासम्मको उचाई २२ फिटको हुने ठेकेदार मगरले बताएका छन् ।

धामका कार्यालय सचिव डम्बरकुमार निरौलाले धार्मिक परम्परा र संस्कृति बचाइराख्न आफ्नो तर्फबाट पनि एउटा धारा दान गरेको बताएका छन् । यसअघि सतासीधामको मुख्य मन्दिर दिगम्बेश्वर मन्दिरको गजुर लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । दिगम्बेश्वर मन्दिर निर्माण उपभोक्ता समितिका संयोजक तथा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईले जानकारी दिए अनुसार पुनर्निर्माणमा ११ लाख ७४ हजार एक सय ३३ रुपैयाँ खर्च भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here