जनताले अनुभव गर्नेगरी काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन

0
7
विराटनगर, 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्ने र अनुभव गर्नेगरी आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा उहाँले मन्त्रालयका सचिवहरूलाई प्रदेशको आम्दानी बढ्ने र नागरिकले देखिनेगरी काम गर्न निर्देशन गर्नुभएको हो ।
प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामलाई जनतासमक्ष बढीभन्दा बढी पुर्‍याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अब आलोचना कम हुनेगरी काम गर्नुहोस् ।”
मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेका अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन गर्नेगरी आयोजना गर्ने कार्यक्रममा प्रगतिका विषय सचिवले सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेसागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नुभएको हो । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने मुख्यमन्त्रीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here