चैते धान प्रवर्द्धन गर्न सामुदायिक सिँचाइ

0
3

भैरहवा (रुपन्देही),

सैनामैना नगरपालिका–६ बैकुण्ठपुर धान र मकै खेतीका प्रचुर सम्भावनायुक्त क्षेत्र हो । तराई र पहाड दुवैको सङ्गमस्थल बैकुण्ठपुरमा चैते धानको सम्भावना देखेर नै यसलाई ब्लक क्षेत्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भैरहवाले लगानी गरेको छ ।

परियोजनाले रु एक लाख ६० हजार लगाएर बनाएको सामुदायिक कुलोको कारण अहिले बैकुण्ठपुरका किसान लाभान्वित भएका छन् । चैते धानलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित रु पाँच लाख ४८ हजारमा निर्माण गरिएको डाँडे कुलोले मकै उत्पादन ह्वात्ते बढाइएको छ ।

यसअघि पनि सैनामैना नगरपालिकाले यस क्षेत्रमा मकै प्रवर्द्धन गर्दै आएको थियो । बैकुण्ठपुर कृषक समूहका अध्यक्ष भूपराज बस्यालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नगद अनुदान प्राविधिक सहयोग उपलब्ध गराउँदा मकै उत्पादन बढेको बताउनुभयो ।

“पोहोर, पोहोर साल हामीले मकै रोप्दा पाँच/छ क्वीण्टल बढी उत्पादन हुन्थ्यो,” बस्यालले भन्नुभयो, “अहिले यो कुलोको प्रयोगले छ गुणाभन्दा बढी मकै उत्पादन भयो, अहिले ५० देखि ६० क्वीण्टलसम्म हामीले उत्पादन ग¥यौँ ।” उहाँले यसअघि बोरिङबाट पाइपको माध्यमले सिँचाइ गर्दा महँगो हुने गरेको स्मरण गर्नुभयो । “कुलो बनेपछि हाम्रो सिँचाइको समस्या दीर्घकालीन रूपमा फलदायी भएको छ,” बस्यालले भन्नुभयो, “यसले सबै खेतलाई सिँचित गरेको छ ।”

परियोजनाअन्तर्गत वर्षे कुलोभन्दा ठीकमाथि डाँडे कुलो बनाइएको छ । खोलामा ईङ्गुरिया खोलाको पानी पनि आउने र अन्य समय बोरिङको माध्यमबाट कुलोमा पानी ल्याउने व्यवस्था रहेको अध्यक्ष बस्यालले बताउनुभयो । प्रत्येक खेतमा पानी पुग्ने र ट्रयाक्टर लैजादा कुलोलाई नोक्सानी नहुने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । सामुदायिक सिँचाइ पूर्वाधार निर्माणअन्तर्गत करिब छ सय मिटर कुलो निर्माण गरिएको छ । यसले २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा प्रर्याप्त सिँचाइ गर्ने र यसले धान, मकै र गँहुजस्ता बालीलाई सहयोग पुगेको छ ।

बैकुण्ठपुरमा चैते धान उत्पादनको प्रचुर सम्भावना देखेको र यसलाई खाद्यान्नको ब्लक बनाउन सक्ने भएकाले कुलो निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले बताउनुभयो । यो आर्थिक वर्षमा करिब एक सय हेक्टर चैते धान प्रवर्द्धन गर्ने लक्ष्य रहेकाले यसलाई पनि सम्भावित क्षेत्रको रुपमा राखिएको उहाँले बताउनुभयो ।

रुपन्देही जिल्लामा धेरै धान खेती हुने गरे पनि चैते धानको खेती गर्ने किसानको सङ्ख्या नगण्य रूपमा रहेको छ । सिँचाइको व्यवस्था नभएको र आकाशे पानीको भर पर्नुको कारण चैते धानको खेती हुने सकेको छैन । यस्तो अवस्थामा सिँचाइका साना पूर्वाधारले पनि यसको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बैकुण्ठपुर सामुदायिक कुलोले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here