हिंसापछि बंगलादेशीहरु नेपाल प्रवेशको प्रयासमा

0
2

विराटनगर ।

बङ्गलादेशमा देखिएको राजनीतिक सङ्कट र हिंसाका कारण भारतको बाटो हुँदै बङ्गलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै बङ्गलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

ती मध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ । बङ्गलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ । सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ । बङ्गलादेशमा चुलिएको राजनीतिक सङ्कट र हिंसाका कारण देश छाडेका बङ्गलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् ।

नेपाल प्रवेश गर्न खोज्ने दुई जना बङ्गलादेशी नागरिकलाई मङ्गलवार दिउँसो फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बङ्गलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ बर्सिया जायदा बेगमलाई फिर्ता सीमा नाकाबाट फिर्ता पठाइएको पठाइएको हो ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेको बस्नेतले बताए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बङ्गलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो । त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो । यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका २ जनालाई प्रहरीले फिर्ता पठाएको हो ।

प्रहरीका अनुसार बङ्गलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो । बङ्गलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । मोरङको रानी नाकमा मात्रै नभई काँकरभिट्टा नाकामा पनि सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनले झापामा अहिलेसम्म नेपाल प्रवेश गर्ने बङ्गलादेशी नागरिक फेला नपरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here