संवेदनहीन कार्य निस्तेज होस्

0
15

महिला, पुरुष र बालबालिकालाई आर्थिक प्रलोभनमा पारी विभिन्न किसिमले शोषण गर्ने कार्यलाई मानव बेचबिखन भनिन्छ । यस्तो कार्य आपराधिक कार्य हो, जसलाई कानूनले नै प्रतिबन्ध लगाएको छ । तर, हाम्रो देशमा प्रत्येक वर्ष हजारौं मानिस मानव बेचबिखनको शिकार भइरहेका छन् । मानव बेचबिखनका स्वरुप एकैनासका छैनन् । हामीकहाँ महिला तथा बालबालिका विभिन्न किसिमले बेचिएका, बन्धक बनाइएका र शारीरिक तथा अािर्थक शोषणमा परेका समाचार दिनहुँ सार्वजनिक भइरहन्छन् । तर, गरिबी, अशिक्षा, वेरोजगारी र चेतनाको कमीका कारण यस्तो अपराध कम हुन सकेको छैन ।

नेपालमा यस्तो अपराध देशभित्रै र विशेषतः एशियाका विभिन्न मुलुकहरु र मध्यपूर्वका देशहरुमा हुने गरेको छ । त्यसमा पनि महिला, बालबालिका तथा पुरुषहरु श्रम र यौन बजारमा बेचिने गरेका विभिन्न घटना र अध्ययनहरुले देखाएका छन् । ग्रामीण क्षेत्रबाट अवसरको खोजीमा शहर पुगेका किशोरी तथा महिलाहरु अवैध कार्यमा प्रयोग हुने गरेका समाचार निरन्तर आइरहन्छन् । गलैंचा, इँटा उद्योगहरुमा दलाल मार्फत पुगेकाहरु कतिपय श्रम शोषणमा पर्ने गरेका छन् । हाम्रा कयौं महिला तथा किशोरीहरु भारतका विभिन्न शहरहरुमा यौनजन्य क्रियाकलापका लागि बेचबिखन हुने गरेका छन् । यसरी भारतमा प्रति वर्ष दश हजार किशोरी तथा महिला बेचिने गरेका छन् । तिनलाई कृषि मजदुर र संर्कसका लागि समेत बेचिने गरेको छ ।

त्यसो त नेपालीलाई भारत जान र भारतीयलाई नेपाल आउन प्रतिबन्ध छैन । सन् १९५० को सन्धिले यस्तो आवागमनलाई निर्वाध छुट दिएको छ । जसका कारण नेपालीहरु भारतीय बजारमा ठूलो संख्यामा पुग्छन् र ती मध्ये कतिपय महिलाहरुलाई यौन क्रियाकलापमा जबर्जस्ती संलग्न गराइन्छ । यसरी कुनै पनि मानिसलाई प्रलोभनमा पारेर, झुक्याएर र करकापमा पारेर कुनै पनि प्रकारको शोषण गर्न कानूनतः बन्देज लगाइएको हुन्छ, तर अशिक्षा गरिबी र चेतनाको कमी कै कारण प्रत्येक दिनजसो नेपालीहरु श्रम बजारको नाममा बेचिने र शोषणमा परिरहका छन् । नेपाल मानव विकास तथ्यांक अनुसार लगभग बीस प्रतिशत किशोरी भारतमा बेचिएका छन् । ती मध्ये सोह्र वर्षमुनिका धेरै छन् । श्रम बजारमा गएकाहरु मध्ये अनुचित कार्यमा लगाइएका, आर्थिक तथा शारीरिक शोषणमा परेका जस्ता नेपालीलाई विभिन्न स्वयम्सेवी संस्थाको सहयोगमा फिर्ता ल्याउने गरिएको छ । यद्यपि शोषणमा परेका सबैको यथासमय उद्धार हुन सकेको छैन ।

पछिल्लो पटक भारतको जम्मुकस्मिर राज्यमा श्रमशोषणमा परेका केही नेपालीको उद्धार गरिएको छ । भारतको ‘किन इण्डया’ नामक गैरसरकारी संस्थाको सहयोगमा धनुषा र सिरहा जिल्लाका अठ्ठाइस नेपाली पुरुषलाई नेपाल ल्याएर उनीहरुका परिवारसँग सम्पर्क गराइएको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासको समेत समन्वय र सहकार्य रहेको बताइएको छ । उनीहरुलाई सडक निर्माणको काममा आकर्षक पारिश्रमिक दिने प्रलोभनमा लगिएकोमा त्यहाँ द्वन्द्वग्रस्त क्षेत्रमा बिना ज्याला जोखिमयुक्त काममा लगाइएको थियो । मानव बेचबिखनको यस्तो संवेदनहीन कार्य रोक्न अब पनि राज्य चुक्यो भने राज्य सञ्चालकले पनि क्षति व्यहोर्नु पर्नेछ । त्यसैले गरिबीको अन्त्य गर्न रोजगारीको क्षेत्र निर्माण गर्दै अशिक्षाको बादल हटाउन ढिला नगरियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here