जिपी कोइराला अस्पताललाई तीन सय शय्याको बनाउन ‘डिपिआर’

0
2

दमौली (तनहुँ),

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपिआर तयार गरिएको हो ।

सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा तीन सय शय्या क्षमताको डिपिआर तयार गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई बुझाइएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।

देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरूप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको डा श्रेष्ठले बताउनुभयो ।

डिपिआर तयार नभएकाले थप काम अगाडि बढ्न नसकेको अवस्थामा अब डिपिआर तयार भइसकेकाले काम अगाडि बढ्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार अस्पताललाई एक हजार शय्याको बनाउने लक्ष्य छ । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने तयारी थालिएको छ । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।

यही साउन २१ गते तनहुँ आउनुभएका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० ‘जनरल वार्ड’ छन् । जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।

अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । उपचार केन्द्रले स्वास्थ्य सुविधा थप गर्दै लगेको छ । जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार डा श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडीबाट ‘कल्चर’ सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ ।

अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here