हुलाक मार्फत पठाएको सम्पत्ति विवरण १० महिनामा सदरमुकाम पुग्यो, इलामका १८ शिक्षक जरिवानामा

0
3

विमल दहाल, इलाम ।

हुलाक मार्फत पठाएको विवरण १० महिनामा सदरमुकामवाट जम्मा ३४ किलोमिटर दक्षिणमा रहेको नगरपालिकाबाट जिल्ला सदरमुकाम मात्र पुग्यो भन्दा तपाईँहरूलाई कहिलेको घटना, कहाँको घटना भनी कौतुहलता लाग्न सक्छ। यो कुनै दुर्गम क्षेत्रको अनि पुरानो घटना चाहिँ होइन। घटना इलाम जिल्लाको सुगम क्षेत्र मानिएको माई नगरपालिकाको हो ।

अतिरिक्त हुलाक कार्यालय दानाबारीमा दर्ता गरिएको रजिस्टर पत्र जम्मा १० महिना अर्थात ३ सय दिनमा जिल्ला हुलाक कार्यालय इलाम पुगेको छ, त्यो पनि अत्यन्तै महत्वपूर्ण कागजात । अार्थिक बर्ष २०७९/०८० को सम्पति विवरण राष्ट्रिय किताब खाना काठमाडौंमा गत २०८० श्रावण २६ गते पठाएमा सम्बन्धित कार्यालयमा समयमा नपुगेपछि यो घटना सार्वजनिक भएको हो। सम्पत्ति विवरण दर्ता नभएपछि माई नगरपालिका भित्रका ८ जना सहित इलाम जिल्लाका १८ शिक्षक नगद ५ हजारका दरले जरिवानामा परेका छन । शिक्षक कर्मचारीहरुको सम्पत्ति विवरण आर्थिक वर्षको श्रावण र भाद्र मसान्तसम्म राष्ट्रिय किताब खाना काठमाडौंमा दर्ता हुनुपर्ने प्रावधान छ।

माई नगरपालिका स्थित अतिरिक्त हुलाक कार्यालय दानाबारीमा गत वर्ष श्रावण २६ गते दर्ता भएको खामबन्दी सम्पति विवरण कागजात १० महिनापछि अर्थात् २०८१ साल जेठको २३ गते मात्र जिल्ला हुलाक कार्यालयमा दर्ता भएको प्रमाण फेला परे पछी हुलाक कार्यालयको लापरवाही वाहिर आएको हो ।

शिक्षक विष्णुप्रसाद निरौलाका अनुसार हुलाक कार्यालयले लापरवाही गरेपछी आफुहरु जरिवानामा परेकाले न्यायका लागि सम्बन्धित निकाय जाने जानकारी दिनुभयो। वहाँका अनुसार रुपैयाँ पैसा ठूलो होइन, जरिवाना ठूलो होइन, तर हुलाक कार्यालयको विधि र पद्धति सुशासनयुक्त नभएको भन्दै कार्यालयलाई जवाफदेही बनाउन पनि आफूहरू न्यायका लागि सम्बन्धी निकाय पुग्ने जानकारी दिनुभयो।

सरस्वती मावि दानाबारीका विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज वहादुर घिमिरे शिक्षकहरुलाई उनिहरुको सेवा क्षेत्र र कार्य अवधिमा असर पुग्ने गरि गरिएको जरिवाना हुलाक कार्यालय र कर्मचारीको लापरवाही कार्य भएको भन्दै हुलाक कार्यालयले शिक्षकको जरिवाना तिर्नु पर्ने वताउनुभयो ।

सरकारी कार्यलयवाटै आफुहरु पिडित भएको भन्दै शिक्षकहरुले शुक्रबार माई नगरपालिका न्यायिक समितिलाई छलफल गराइदिन आग्रह गर्नुभएको थियो, तर उजुरी प्रशासक हिमाल मिश्रले हुलाकसँग सम्बन्धित विवाद न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने भन्दै न्यायका लागि जिल्ला अदालत वा जिल्ला प्रशासन कार्यालय जान सल्लाह दिनुभएको छ ।

जिल्ला हुलाक कार्यालय इलामका प्रमुख गणेशप्रसाद घिमिरेसँग ९८५२६८०६०५ मा वारम्वार सम्पर्क गर्न खोज्दा वहाँले फोन उठाउनु भएन । कार्यालयका सहायक प्रमुख नवीन आचार्यसँग सम्पर्क गर्दा इलाम जिल्ला हुलाक कार्यालयमा दर्ता भएको सात दिनमै राष्ट्रिय किताब खानामा पत्र पुगेको बताउनुहुँदै आन्तरिक तीन महिना र वैदेशिक एक वर्ष भित्रमा पत्र पुग्यो पुगेन भन्ने विषयमा सम्बन्धित ब्याक्तिले नै खोजी गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो।

उहाँले १० महिना बीचमा के भयो भन्ने आफूलाई समेत थाहा नभएको बताउँदै दानाबारीमा कर्मचारी नियमित नभएर केही कर्मचारी कारबाहीमा परेका र उनीहरूबाटै कमी कमजोरी भएको हो कि भनी आशंका व्यक्त गर्नुभयो। रजिष्टर पत्र दर्ता गरि बुझेका अतिरिक्त हुलाक कार्यालय दानाबारीका कर्मचारी कुमार लावतीले सरकारी कार्यालय अन्तर्गत हुलाक सेवामा कमीकमजोरी रहेको स्वीकार्दै टिकटको अभावमा चिठी समयमा निश्चित कार्यालयसम्म नपुगेको हो कि भन्ने आफुलाई लागेको बताउनुभयो ।

राष्ट्रिय किताबखानाबाट ५ हजारका दरले जरिवाना पर्ने शिक्षकहरूमा माई नगरपालिका भित्रका ८ जना कल्पना राई, गोविन्द खतिवडा, टंकमाया तिम्सिना, राधिका देवी राउत, डम्बर कुमारी राउत, विष्णुप्रसाद निरौला, हुमादेवी चापागाईं, र यशोदा खड्का रहनुभएको छ त्यस्तै जिल्लाभित्रका अनिता राई, किसनदेव शाह, खेमराज भण्डारी, गंगाबहादुर महत, देवीप्रसाद पोखरेल, प्रमिला चापागाईं, यशोदा आचार्य र सजिना तामाङ रहनुभएको छ वहाँहरुले लापरवाही गर्ने हुलाक कार्यालय र कर्मचारीलाई कारबाहीको माग गर्दै आफ्नो जरिवाना मिनाह गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here