अधिकारीको तेस्रो कृति ‘पानस प्रतिभा’लाई नियाल्दा

0
2

दुई थान कविता सङ्ग्र प्रह प्रकाशन गरिसकेका र २०५३ सालको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका विराटनगरका स्रस्टा गोकुल अधिकारी, पानस प्रतिभा नामको नयाँ कृतिसङै मुक्तककारको रूपमा देखापरेका छन् । उनी मुक्तक विधाको कृतिकारका रूपमा २०८० सालमा मात्र देखा परे पनि उनको मुक्तकयात्रा भने आजभन्दा चार दशक अघिदेखिकै हो ।

२०४० सालमा विराटनगरमा सम्पन्न विराट मुक्तक प्रदर्शनीमै सशक्त मुक्तक लेखेर प्रदर्शनी अवलोकनकर्ताको मन जीत्न सफल गोकुलको मुक्तक सिर्जनालाई सोही समयदेखि चिन्ने जान्ने विराटनगरका स्रस्टाहरू भन्दछन “गोकुलले आफ्नो दह्रो सिर्जनशील क्षमता रहेको मुक्तक विधामा आफुलाई कृतिमार्फत प्रस्तुत गर्न अर्थात कृति प्रकाशन गर्न सारै ढिलाई गरे जसका कारण उनी मुक्तककारको रूपमा देखिन सकेनन र आफ्नो तीक्खर प्रतिभा रहेको यो बिधामा निकै पछि पर्न गए । ”

कवि विवश पोखरेलले आफ्ना मित्र गोकुलप्रतिको गुनासोका रूपमा पनि यो कुरा पानस प्रतिभाभित्र आफ्नो भुमिकामा प्रस्ट शब्दमा उल्लेख गरेका छन् । उनी लेख्छन् ”“गोकुलले आफूलाई कृतिगत रूपमै मुक्तककारको रुपमा चिनाउन अटेर गरेकै हुन् जुन् अटेरीका कारण उनी मुक्तककार व्यक्तित्वबाट आजसम्म ओझेलमै रहे“ (पानस प्रतिभा पेज “च)”।
पानस प्रतिभाभित्रका यति धेरै मुक्तक फुटकर रूपमा पत्रपत्रिकामा वर्षौ अघि लगभग सबै प्रकाशित भैसके पनि आफूलाई मुक्तकविधाको कृतिकारको रूपमा प्रस्तुत गर्ने अटेर गरेको कुरालाई स्रष्टा अधिकारी स्वयंले पनि स्विकारेका छन् । आफ्नो भूमिकामा उनले लेखेका छन् ः “मलाई आफ्ना मुक्तकहरू खासै दरिला नलागेका कारण शुभचिन्तकहरूको सल्लाहलाई अटेर गरेरै बसिरहें ” (पेज “ध” ) ।

जे होस् , ढिलै भए पनि कवि गोकुल मुक्तककारको रूपमा देखापरेका छन् । उनको यो कृतिसँगै आजभन्दा ४० वर्ष अगाडि विराटनगरमा मुक्तकको माहोल व्यापक रहेको र त्यसबेलाको मुक्तकमय गतिविधिमा विवश पोखरेल , गोकुल अधिकारी लगायतका उसबेलाका तन्नेरीहरूको योगदान उल्लेख्य रहेको कुरा पनि प्रकाशमा आएको छ । गोकुलको मुक्तकसंग्रहसँगै उधिनिएर आएको विराट मुक्तक प्रदशर्नी २०४० सम्बन्धी विषय सम्भवत, कोशी प्रदेश र विराटनगरको मुक्तक साहित्यको इतिहास बारे शोध गर्नेहरूका लागि महत्वपूणर् सामग्री हुन सक्छ ।

लेख्न जति गाह्रो छ ,लेखेर लेखकीय भूमिकामा आउन झनै कठिन छ । पछिल्लो समय साहित्यिक फाँटमा धेरै कलमबाजहरूले आफूभित्रको साहित्यिक खुराकलाई मूर्तरूप दिन,आफूभित्र निखार ल्याई खारिएर अरुसँग दाँजिन पनि आफ्ना रचनाहरूमा सशक्त नौलोपन र आयाम दिने गरेको पाइन्छ । यसै सन्दर्भमा चर्चामा आएका कवि गोकुल अधिकारीले पनि अन्तर हृदयबाट नै आफूलाई कवि भूमिकाबाट मुक्तककारको पगेरी गुथ्ने काम पानस प्रतिभा २०८० मार्फत गरेको देखिन्छ । कवि गोकुल मोरङ्गको विराटनगरमा कवि.टेकनाथ अधिकारीको कान्छो पुत्रको रुपमा २०२० सालमा जन्मेका हुन् । श्रीराम कुटी (अधिकारी घर)भित्रको आफ्ना पिताको आचारणबाट अभिप्रेरित कवि अधिकारीले लामो अन्तरालपछि पाठकसामु प्रस्तुत गरेको कृति हो , “पानस प्रतिभा“ । यस कृतिले पाठकको मन जित्न सफल हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गरी नेपाल राष्ट्र बैंकको ३० वर्षे जागिरे जीवन पनि पुरागरी अवकाशको जीवन यापन गरिरहेका कवि गोकुल यतिबेला पूर्वाञ्चल साहित्य प्रतिष्ठानको महासचिव र नेपाली लेखक संघ कोशी प्रदेश समितिको अध्यक्षको भूमिकामा रहेर साहित्यिक गतिविधि गरिरहेका छन् । यसबाहेक वंगलादेशको राइटर इन्टरनेशनल भन्ने संस्थामा पनि उनी कार्यसमिति सदस्यको रूपमा रहेका छन् । चालीस वर्ष अघि विराटनगरबाट प्रकाशित हुने आमा, धारा, अनुक्रमजस्ता साहित्यिक पत्रिकाको प्रमुख सम्पादक रहिसकेका अधिकारी मिर्मिरे (नेपाल राष्ट्र बैंकको प्रकाशन), मनोभाव (राष्ट्रिय वाणिज्य बैंकको प्रकाशन) स्रष्टा दर्पण ( नेपाल स्रष्टा समाजको प्रकाशन) जस्ता साहित्यिक पत्रिका हुँदै हाल कल्पतरुजस्तो प्रसिद्ध साहित्यिक पत्रिकाको कार्यकारी सम्पादकको रूपमा रहेर काम गरिरहेका छन् ।

मुक्तक नेपाली साहित्यमा परिचित विधा हो । स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो ।

परापूर्वकालमा गीत गाएर दोहोरी खेल्ने क्रममा शब्दहरूलाई टुक्काको रूपमा छोटकरीमा मिलाएर गाइने चलनबाट नै मुक्तकको विकास भएको पाइन्छ । त्यस्तै टुक्के गीतहरूलाई लय र समय मिलाएर गाउदै जाँदा त्यसलाई नगाएर वाचन गर्न थालियो । यससँगै पछि मुक्तकको विस्तार हुँदै गएको पाईन्छ । मनको भावलाई स्वतन्त्र र लयात्मक तरिकाले निश्चित हरफमा मिलाएर राख्नसक्नु अर्थात् सुजना गर्न सक्नुु नै मुक्तक सिर्जना हो ।

मुक्तक आकार, प्रकार, स्वरूप, पद्धति तथा प्रवृत्तिका आधारमा सङ्क्षिप्त हुन्छ । यसमा प्रस्तुत गरिएको एक अनुच्छेदले पूर्ण काव्यिक अभिव्यक्ति प्रदान गर्दछ, एक आवृत्तिको भई आफैमा पूर्ण अर्थ प्रदान गर्न सक्षम मुक्तक खिरिलो, चोटिलो र बोधगम्य हुनु यसको विशेषता हो । यही सिद्धान्तमा आधारित रहेर गोकुलले आफ्नो पूर्ण काव्यिक अभिव्यक्ति उनको मुक्तक संग्रह पानस प्रतिभामा प्रस्तुत गरेका छन् ।

२०४० सालदेखि नै साहित्यिक पोखरीमा डुबुल्की खेल्दै आएका कवि तथा मुक्तककार अधिकारीले पानस प्रतिभा मुक्तक संग्रहमा १ सय ३२ वटा मुक्तकहरू समावेश गरेका छन् । समय सान्दर्भिक परिवेशमा देखा परेका घटनावृत्तको आधारमा मुक्तकमा चर्चा गरिएका विम्वहरू अत्यन्तै चोटिला छन् । यसमा प्रेमील, सांस्कृतिक,धार्मिक,ऐतिहासिक लगायत अन्य बिषयबस्तुलाई विम्बात्मक शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले यस संग्रहले पाठकको मन सजिलै जित्न सक्ने देखिन्छ ।

शाश्वत अधिकारीले तयार पारेको गोकुलको पानस प्रतिभा मुक्तक संग्रहको आवरण साजसज्जा अत्यन्तै राम्रो र सुन्दर छ ,साथै कागजको स्तर पनि अत्यन्तै राम्रो रहेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा प्रकाशन गरिएको यो संग्रह पाठकको हातमा पर्नासाथ यसले लोकप्रियता पाउन सक्ने देखिन्छ ।

.पुस्तकमा दधिराज सुवेदीले लेख्नुभएको प्रकाशकीयले झनै महत्व राखेको छ । त्यसैगरी कृतिमाथि रहेको कवि विवश पोखरेलको भूमिकाले कृतिको उचाइ थपिदिएको छ । मुक्तकको चतुस्पदीय संरचनाको हरफ कतै कतै समान नरहेको देखिएता पनि आगामी दिनमा सुधार गरी अघि बढ्न सके मुक्तकमा गोकुलले आशातित प्रगति गर्न सक्ने देखिन्छ ।
अन्त्यमा उनी भित्रबाट पलाएको साहित्यिक भोक साहित्य फाँटमा उर्जाशील बन्न सफल रहोस् । उनको साहित्यिक गतिविधिमा सक्रिय संलग्नता यसैगरी रहिरहेको देख्न पाइयोस् । यस्तै उच्चकोटीका कृतिहरू जन्माउन उनलाई ईश्वरको साथ सहयोग पनि प्राप्त भइरहोस् ।

कृति – पानस प्रतिभा
कृतिकारः गोकुल अधिकारी
विधाः मुक्तक
प्रकाशक – प्रतिभा पुरस्कार प्रतिष्ठान
मूल्य – रु २००
पृष्ठ सङ्ख्या – ९६
प्रकाशित वर्ष – २०८०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here