मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

0
6

 

झापा, वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान जानुभएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा हुनुहुन्छ ।

राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उहाँ डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताउनुभयो ।

“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भन्नुभयो, “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उहाँले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गर्नुभएको छ ।

विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुग्नुभएको थियो । दुई वर्षअघि मधुमेह र उच्च रक्तचापका कारण पक्षाघातले थलिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उहाँ अचेत अवस्थामै रहनुभएको ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरूले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिनुभयो । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भन्नुभयो, “दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।”

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का सांसद् विश्वप्रकाश शर्माले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यलाई भेट्नुभएको छ ।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताउनुभयो ।

बिनादेवीका छोरा सञ्जयलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताउनुभएको छ । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आउनुभएको छभने कान्छा छोरा सुरज काठमाडौँमा मजदुरी गर्नुहुन्छ । छोरी अनिता कवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलालसमेत ज्याला मजदुरी गर्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here