प्रधानमन्त्री ओलीसँग वायुसेवा सञ्चालकको छलफल

0
2
काठमाडौँ,
प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको वायुसेवा सञ्चालन सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो । “हवाई क्षेत्रका समसामयिक गतिविधिबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो । सञ्चालकका तर्फबाट विद्यमान समस्या र समाधानका उपायबारे सकारात्मक छलफल भएको छ”, उहाँले भन्नुभयो ।
     प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिनुभएको थियो । यस क्षेत्रमा देखिएका समस्याको समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो जनाउँदै यसलाई कसरी हटाउन सकिन्छ भनेर जिज्ञाशा राख्नुभएको थियो । यस्तै युरोपेली सङ्घ (इयू)को कालो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गर्नुभएको थियो ।
     प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले पहल गरिरहेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढेको जानकारी दिनुभएको थियो । उहाँले हवाई क्षेत्रको नीति र संरचनागत सुधारका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    प्रधानमन्त्रीसँगको छलफलमा मुख्यसचिव लीलादेवी गड्तौला तथा वायुसेवा सञ्चालकका तर्फबाट सङ्घका अध्यक्ष कार्की, उपाध्यक्ष प्रतापजङ्ग पाण्डे, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here