मधेशमा राखीपर्व मनाइँदै

0
2

महोत्तरी,

मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।
यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहित बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । चन्द्रमास गणनामा तिथिको आधा भागलाई करण भनिन्छ । जम्मा ११ करणमध्ये भद्राको भोगभरि शुभकार्य शास्त्रले बर्जित गरेको हुँदा यो कटाएर आज राखी मनाइनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने झाले स्पष्ट पार्नुभयो ।

यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न र¬ङका रक्षासूत्र (राखी) किन्न मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइसँगैको घर आफ्नो भएकाले यिनीहरू घरमै पर्वको तयारीमा छन् । स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्केका गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब पर्वते हिन्दूदेखि सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ । सबैतिर राखीपर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको हो । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यो पर्वको तयारी देखिन्छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । सनातन हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रुपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने परम्परा छ । तर मिथिलामा पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका अध्यापक लीलानाथ गौतमले बताउनुभयो ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिबाट हारेका देवतालाई देवगुरु वृहष्पतिले बलिजस्तै बलवान् हुन आशीर्वाद दिँदै शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन बसेको विश्वास गरिन्छ । यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको यस क्षेत्रमा जनविश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here