डी. कौडिण्य पुरस्कारको अक्षयकोष वृद्धिका लागि ३१ हजार सहयोग

0
15

झापा । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् । सेन्टरको डी. कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद सहयोग गरेका हुन् ।
जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य)को नाममा प्रेस सेन्टरले स्थापना गरेको अक्षयकोषलाई झापा मेचीनगर १२ धाइजनमा रहेको रितिका डेरी उद्योग प्रालिको तर्फबाट सञ्चालक चिमरियाले सो सहयोग गरेका हुन् । आचार्य एक कुशल पत्रकार, शिक्षक र साहित्यकार समेत रहेको स्मरण गर्दै उनको नाममा स्थापित कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको चिमरियाले बताए ।
उनले प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, उपाध्यक्ष होमप्रकाश अधिकारी र पुष्प खड्कालाई सहयोग हस्तान्तरण गरेका थिए ।
समाजसेवी चिमरियाले आफ्नो हरेक जन्मदिन तथा विवाहोत्सव समाजमा रचनात्मक कार्य गरी मनाउने गरेका छन् । उनले मेचीनगर क्षेत्रका २५० जना कृषकलाई केहि समय अघि कृषि औजार फरुवा वितरण गरेका थिए भने विपन्न १ हजार ५ सय जनालाई झुल वितरण गरिरहेका छन् ।
तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरि २०५९ साल साउन ७ गते आचार्यलाई चारआली व्यारेकमा हत्या गरेको थियो । आचार्यको स्मृति दिवसको अवसरमा साउन ७ गते प्रेस सेन्टर नेपाल झापाले क्रियाशिल जनपक्षीय पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको छ ।
उक्त पुरस्कारलाई व्यवस्थित वितरणका लागि अक्षयकोष स्थापना गरिएको अध्यक्ष राजु पाठकले जानकारी दिए । पाँच हजारबाट शुरु गरेको पुरस्कार राशि यस बर्षबाट ४१ हजार पुर्याइएको उनले बताए । अक्षयकोषको व्याज आम्दानीले पुरस्कार व्यवस्थापन गरिने उनले बताए । उनले कोषमा सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here