सामाज रुपान्तरण भन्ना साथै सामाजिक परिवेशका क्रियाकलाप, मूल्य–मान्यता, आचरण, व्यवहार, संरचना आदि जस्ता पक्ष एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुनु हो । युग सापेक्षित परिवर्तित समाजको परिकल्पना गर्नु र सो अनुरुपको भूमिका खेल्नु मानव समुदायको दायित्व पनि हो । युग सापेक्ष समाज परिवर्तनका लागि युद्ध, संघर्ष, विद्रोह, क्रान्ति जस्ता माध्यम उपयोग गर्नेभन्दा पनि सकरात्मक सोच, विचार, चिन्तन र व्यवहारको उपयोगबाट समाज रुपान्तरणका लागि प्रयास गर्नु चाहिँ उपयुक्त मार्ग हो । संस्कृति सभ्यताको पहिचान हो । संस्कृतिलाई चलायमान बनाउने कार्य मानवबीचका संस्कारहरुले गरेका हुन्छन् । संस्कारमा धर्म र सम्प्रदायका कारणले गर्दा विविधता पाइन्छ । यो विविधता विशेषगरी भूगोल र जातका आधारमा स्थापित भएको हुन्छ । हिन्दूहरुले मान्ने गरेको विभिन्न संस्कारहरु मध्ये मृत्यु संस्कार पनि एउटा हो । यो संस्कार हरेक जातजातिका बीचमा आ–आप्mनै प्रकारको हुन्छ ।
हामी प्रत्येक शुभकार्यमा हाम्रा माता–पिताको स्मरण गर्दछौ । भन्ने गरिन्छ– ‘मातृदेवो भवः पितृदेवो भवः गूरु देवो भवः अतिथी देवो भवः ।’ यसैगरी ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव ।’ यी भनाइहरु हाम्रा संस्कारभित्रका मुख्य अभिन्न अङ्ग पनि हुन् । हामी सर्वप्रथम माताको सेवामा समर्पित हुन्छौं । त्यसपछि पिताको अनि गुरुको हुँदै अतिथिको सेवामा समर्पित हुन्छौं । हाम्रा संस्कारले यो क्रमबद्धतलाई मान्यता दिएको पाइन्छ । यसले आमाबाबुप्रतिको सद्भावको कति महत्व रहेछ भन्ने कुराको पुष्टी हुन्छ । हामी सनातन धर्ममा आधारित भएर नै परापूर्व कालदेखि चलिआएको हाम्रो संस्कृति र संस्कारलाई सम्मानपूर्वक मान्दछौं । हाम्रा संस्कारहरु विशेषतः गर्वावस्थादेखि शुरु भएर जन्मपश्चात हुँदै मृत्युपश्चातसम्म पनि हामी कुनै न कुनै रुपमा मानिरहेका हुन्छौं । अतः निष्कर्षमा भन्नुपर्दा संस्कृति हाम्रो पहिचान र पद्दति हो भने संस्कार हाम्रो व्यवहारिक पक्ष हो ।
मानव जब समाधीमा पुग्छ । त्यसपछि ऊ भित्र क्रियाशील रुपमा रहेको कर्मको अभाव हुन्छ । जबसम्म मानिस क्रियाशील रहन्छ । तबसम्म ऊ भित्र कर्ताका रुपमा रहेका इन्द्रियहरु पनि क्रियाशील नै रहेका हुन्छन् । इन्द्रियहरु क्रियाशील रहेसम्म समाधीको कुनै अर्थ रहँदैन । कारण जीवात्मामा चेतनाले अधिपत्य जमाइरहेसम्म इन्द्रियहरु क्रियाशील हुन्छन् । इन्द्रियहरु क्रियाशील रहेसम्म कर्मको रुपमा रहेको मानव शरीरमा निस्कृयपन आएको हुँदैन । तर, जब कर्ममा नै निस्क्रियपन आउँछ तब मानिस समाधीमा पुग्दछ । यो शाश्वत सत्य हो । कारण कुनै पनि जीवको जन्मपश्चात उसको मृत्यु निश्चित छ । ऊ समाधीमा पुग्छ । यो धु्रवसत्य भएकाले मानवको पनि जन्मपश्चात मृत्यु निश्चित छ ।
सनातन धर्मका सारा तत्वहरुलाई एकत्रित गरेर ठोस निर्णयका रुपमा तयार पारिएको धर्मसिन्धुसार अर्थात् धर्मसिन्धुमा मृत्युपश्चातका संस्कारहरुलाई ‘धर्मसिन्धुसारः’ का टिकाकार हेमराज शर्मा पौडेलले यसरी उल्लेख गरेका छन्– ‘आफ्नो निकटको व्यक्ति मरेको समयमा जुठो बारेर आशौच बारिरहेको व्यक्तिलाई छुवाछुत गर्ने र धार्मिक कर्महरु सम्पन्न गर्ने अधिकार हुँदैन ।’ त्यसैगरी ‘ब्रतबन्ध नभएको छोरा र अविवाहित छोरीलाई आमाबाबुको मृत्यु भएमा दश दिन जुठो लाग्छ । तर, बाबुआमा बाहेक अरु कसैको मृत्यु भएमा ब्रतवन्ध र विवाह नभएका छोराछोरीले भने जुठो बार्नु पर्दैन । (शर्मा पौडेल,२०७१ पृष्ठ ७८८)
व्रतबन्ध गरेको केटाको मृत्यु भएमा सपिण्डीभित्रका बन्धुहरुलाई दश दिन जुठो लाग्छ । यसपछिका सोदकहरुलाई तीन रात र सगोत्रिलाई एक दिन जुठो लाग्छ । विवाहित छोरी आफ्ना पतिको घरमा मरेकी भए उसका बाबुआमा र सौतेनी आमालाई तीन रात जुठो लाग्छ भने उसका दाजुभाइलाई पक्षिणी (दुई दिन रबीचको एकरात) जुठो लाग्छ । विवाहित स्त्रीका बाबुआमा, दाजुभाइ आदिको मृत्यु भएमा दश दिनभित्र मृत्युको खबर पाएको अवस्थामा उसलाई तिन रात जुठो लाग्छ ।’ (शर्मा पौडेल,२०७१ पृष्ठ ७८८)
यी संस्कार आजका दिनमा कति व्यवहारीक छन् भन्ने कुरामा छलफल गर्नुपर्ने देखिन्छ । कारण तत्कालीन अवस्थामा उपयुक्त निर्णय भए तापनि आजका दिनमा छोरा र छोरीको बीचमा यसप्रकारका विभेद कायम राख्नु उपयुक्त छ वा छैन भन्ने कुरामा बहस चलाउँदै ठोस निर्णयमा पुग्नुपर्ने देखिन्छ । त्यसैगरी सोही शास्त्र ‘धर्मसिन्धुसारः’ मा उल्लेख भए अनुसार– ‘पतिको मृत्यु भएपछि पत्नीहरुले अपनाउनुपर्ने बाटाहरु दुई प्रकारका हुन्छन् । विधवा नारीले कि त राम्रोसँग विधवा धर्मको पालना गर्नुपर्छ कि पतिसँगै सती जानुपर्छ ।’ (शर्मा पौडेल पृष्ठ ७८८) यो पनि संस्कारनै त हो । शास्त्रमा उल्लेख भए अनुरुप, तर आजभोलि अलिक फरक छ । सति जाने कुरा त राणाकालमा चन्द्र सम्शेरले उन्मुलन गरे । यसमा कसैको विमती रहेन । क्रुर प्रथा थियो हटयो । बाँकी विधवाका हकमा आजभोलि समयसापेक्ष क्रमश सुधार हुँदै आइरहेको कुरा हामी देखिरहेका छौ । यहाँसम्म कि बुहारीलाई छोरी समान मानेर पुनः कन्यादान गरेका कुरा पनि हामी देखिरहेका छौं ।
यसले के पुष्टी गर्दछ भने संस्कार परिवर्तनका क्षेत्रमा अति कठोर पनि हुुनुहुँदैन । लचिलो हुनु पर्दछ । ताकी परिवर्तलाई सजिलै आत्मसात गर्न सकियोस् । दाहसंस्कार आदि कर्मका अधिकारहरुका विषयमा पनि ‘धर्मसिन्धुसारः’मा उल्लेख भए अनुसार ‘विवाह नभएकी स्त्रीको मृत्यु भएमा उसको दाहसंस्कार आदि कर्म उसको बाबुले गरिदिनुपर्छ । बाबु नभएमा दाजभाइ वा निकटको सम्बन्धीले गरिदिनुपर्छ । विवाहिता स्त्रीको दाहसंस्कार आघि उसका छोरा नभएमा सौताका छोराले गर्नुपर्छ । त्यो छैन भने छोरा पटीका नाति वा पनातिले गर्नुपर्छ । ती पनि कोही छैनन् भने पतिले नै पनि दाहसंस्कार आदि गर्नुपर्छ । पति पनि नभए छोरीले गर्नुपर्छ छोरी पनि नभए छोरीको छोराले गर्नुपर्छ । (शर्मा पौडेल, २०७१ पृष्ठ ७८८)
आज हामी छोरा र छोरीका बिचमा विभेद गर्नुहुन्न भनेर राजनीतिक मञ्चमा ठूला–ठूला स्वरमा कुर्ली रहेका हुन्छौं । बाबुआमाको मृत्युपश्चात तीन दिन मात्र मान्दा हुन्छ भन्ने शास्त्रलाई चुनौति दिँदै छोरीहरु पनि आमाबाबुको मृत्युपश्चात छोराबुहारी साथ एकै ठाउँमा बसेर समान रुपमा जुठो बारीरहेको पाउँछौं । यति मात्र होइन छोरा नभएको अवस्थामा छोरीले मात्र पनि क्रियामा बसेर जुठो बारीरहेको पनि हामी पाउँछौं । शास्त्रले भने अनुरुपभन्दा पनि हाम्रो समाज धेरै अघि बढीसकेको छ । छोरा वा छोरी जसले क्रिया गरे तापनि हामीले हाम्रो संस्कारप्रतिको श्रद्धा छाडेको छैनौं । अझ परिस्कृत र संगठित भएर संस्कारलाई समयानुकूल परिवर्तन गर्दै बलियो बनाउँदै गएका छांै । तर, पनि आजभोलि अपवादका रुपमा आमाबाबु र छोराछोरीको बीचमा कुनै कारणबस बेमेल भएको अवस्था रहयो भने त्यस अवस्थामा विवाद उत्पन्न भएको देखिन्छ ।
खासगरी बाबुआमा वा दुईमध्ये कुनै एकजनालाई पालपोषण, औषधोउपचार स्याहार सम्भार छोरीले गरेको तर छोराबाट उपरोक्त कार्यहरुमा कुनै पनि भूमिका नखेलेको अवस्थामा मृत्युपश्चात गरिने संस्कारमा विवाद भएको पाइन्छ । अझ स्वयम् बाबु–आमाले नै छोराबुहारीले गरेको अपहेलनाबाट असैह्य भएर हाम्रो लासै नछोइदिए पनि हुन्थ्यो भन्ने मनसाय समाजका अगाडि व्यक्त गरिरहेको अवस्थामा दुई ठाउँमा क्रिया हुने गरेको पाइन्छ । त्यसबेला संस्कारको विषयमा बहस हुन्छ । क्रियामा सामेल हुने बन्धुबान्धव र आफन्तजन पनि विभाजित हुन पुग्छन् । शास्त्रमा उल्लेखित संस्कारको नाममा माथि भने झैं मञ्चमा कुर्लिने नेता जसले शास्त्रको दुवाइ दिँदै विभेदको लागि मलजल पुग्नेखालका व्यवहार प्रस्तुत गर्दछ । यो त छोराको अधिकार हो भन्दछ । ढिकुरो उठाउने अधिकार छोरीको हुँदैन भन्दछ । जहाँ ढिकुरो उठयो त्यही बन्धुको उपस्थिति हुनु पर्दछ, कुटुम्बको घरमा होइन भन्दछ । यसप्रकार समाजमा परिमार्जत संस्कारभन्दा पनि संकुचित रुपमा रहेको संस्कार पहिल्याउँदै छोरा र छोरीको बीचमा विभेदको खाडल खन्न उत्प्रेरित गरिरहेको पाइन्छ ।
धर्मशास्त्रले छोरालाई अधिकार दिएको छ । ढिकुरो उठाउने अनि जुठो बार्ने । तर, जीवित रहुञ्जेल बाबुआमालाई उसले गर्नुपर्ने कर्तव्यबोध के हो त्यो थाह हँुदैन । सारोगारो पर्दा पनि हेर्दैन । औषधि उपचार गर्दैन । २०औं वर्षदेखि छोरीले बाबुआमाको स्याहार सम्भार लगायत सम्पूर्ण कार्य गरेको अवस्था हुन्छ । जब बाबुआमाको मृत्यु हुन्छ, तब छोरो समाजलाई देखाउन अघि सर्दछ । बुहारी जसको सासु–ससुराको लास उठाउनु अघि महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा सरिक हुन चाहन्नन् । समाज र मलामीलाई देखाउन पार्थिव शरीरलाई चितामा राखेपछि मात्र टुप्लुक्क देखा पर्छिन् । त्यसपछि लास जलिरहेको हुन्छ । त्यहाँ क्रिया कहाँ र कसले गर्ने भन्ने वहसको शुरुवात हुन्छ । संस्कारका नाममा मलामी समेत दुई चिरामा बिभाजित हुन्छन् ।
एक पक्षले छोराले नै क्रिया गर्न पाउनुपर्छ । अर्को पक्ष होइन बाबु वा आमा पालनपोषण गर्ने गरेको हुनाले छोरीले आफू अनुकूल क्रिया गर्न पाउनुपर्छ । गाउँको ठालु भनौं वा नेताको निर्णय आउँछ, ढिकुरो उठाउन छोरालेमात्र पाउँछ । जहाँ ढिकुरो उठ्छ, त्यही गरेको क्रिया मान्य हुन्छ । जीवित रहेका बाबु वा आमामध्ये जो रहे पनि एकजना भने छोरीकै साथमा रहने त्यही क्रिया हुनु पर्दछ भन्ने मान्यता राख्छन् । उनले छोरीले नै क्रिया गर्न पाउने कुरा उठाउँछन् । आफू छोरीकै साथमा बसी क्रिया गर्ने निर्णय सुनाउँछन् । तर, सुनुवाइ हुँदैन । ती बृद्ध पिताको कुरालाई वास्ता गरिँदैन । यो हालै घटेको वास्तविक घटना पनि हो । यिनै सन्दर्भमा फेरि धर्म शास्त्रतर्फ नै लागौं ।
सनातन धर्मशास्त्र ‘धर्मसिन्धुसारः’मा उल्लेख भए अनुसार– ‘परिवर्तशील समयको गतिसँगै मानव–समाजका कतिपय नियम तथा व्यवस्थाहरुमा समेत क्रमिक सुधार हुँदै जाने कुरा सर्वविदित छ । आधुनिक युगसम्म आइपुग्दा प्रचीन समयको सनातन धर्म मान्ने समाजमा प्रचलित केही प्रथा र परम्पराहरुमा पनि समयसापेक्ष सुधार भएको पाइन्छ । प्रस्तुत ग्रन्थ धार्मिक सिन्धुसारको रचना करिब दुई सय २३ वर्षअघि पुराना धार्मिक ग्रन्थहरुका सारसङ्ग्रहका रुपमा भएको देखिँदा यसमा समेटिएका तत्कालीन सतिप्रथा, कठोर वर्णाश्रम व्यवस्थाका नियमहरु र नारीहरुसँग सम्बन्धित असामाजिक नियमहरु जस्ता विषयलाई युगसापेक्ष रुपमा लिनुपर्ने हुन्छ । तत्कालीन समाजका प्रचलित केही प्रथाहरुमा आजकल परिवर्तन आएको देखिए पनि प्राचीनकालदेखि चलिआएका सनातन धर्मका मूलतत्वहरुमा परिवर्तन आएको छैन । त्यसैले हाम्रा धार्मिक तथा सांस्कृतिक कृत्यहरुको सम्पादन गर्ने विधि र प्रक्रियाहरु अझ पनि यथावत कायम रहेको छन्’ । (शर्मा पौडेल समष्टिगत संक्षिप्त टिप्पणी) ।
यसरी शास्त्रले पनि हामीलालई युगसापेक्ष परिवर्तन हुने र गर्न सकिने कुराको संकेत गरेको छ । तर, हामी फेरी पनि जहाँको त्यही छौं । संस्कारको हवला दिँदै फेरि पनि त्यस्ता कुकर्म गर्ने छोरालाई प्रोत्साहित गर्दै छोरा र छोरीको बीचमा विभेद गरिरहेको छौं । प्राकृतिक नियमानुसार कुनै पनि वस्तु चलायमान हुन्छ भने त्यो नियमित प्रक्रिया हो । यो हार्ड (कडा) विज्ञानमा आधारित नियम हो । तर, हाम्रा संस्कारहरु पूर्ण प्राकृतिक नियममा सिमित नहुन सक्छन् । जसले हार्ड (कडा) विज्ञानको भूमिका खेलेको होस । यो भनेको अचेतन र अज्ञानको अवस्था हो । समय क्रमले परिवर्तन हुन बाद्य गराउँछ । त्यसैले संस्कृतिलाई सफ्ट (नरम) विज्ञानका रुपमा तुलना गर्न सकिन्छ । समय सान्दर्भिक घटनाले कतिपय अवस्थामा कठोर भूमिकामा रहेका संस्कृतिहरु इन्काउन्टर पनि हुन सक्छन् । जस्तो सति प्रथा समय, काल, क्रममा आएर इन्काउन्टर गरियो ।
यसकारण तमाम अन्तर वस्तुलाई अन्तर सम्बन्धित बनाएर तिनको जरोकिलो (इतिहास) नमासिकन दृष्टिकोण बनाउन सकियोस् । जसले समग्रतालाई पनि समेटन सकोस् । अन्यथा बाबु–आमालाई सडकमा पु¥याउने । अनि मृत्युपश्चात विशेषगरी सामाजिक प्रतिष्ठा भन्दै बाबुआमाको गुठीका लोभमा ढिकुरो उठाउने । यो क्रमलाई निरन्तरता दिनेभन्दा पनि बाबुआमाप्रतिको कर्तव्यबोध गराउनका लागि पनि यस्ता प्रवृत्तिलाई निरुत्साहित गराउनु पर्दछ । माथि भने झैं जरोकिबलो नमासिने गरी छोरीले गरेका कार्यलाई मान्य दिन समाजले पहल गर्नु पर्दछ ।
सन्दर्भ थोरै परिवर्तन गरौं । एउटा शिष्यले आफ्नो गुरुलाई सोधेको प्रसंगबाट, मानिसको जीवनमा वास्तविक श्रेष्ठ, उत्तम वा मंगल कुन अवस्थामा आउँछ ? गुरुले विभिन्न उदाहरणका साथ शिष्यलाई भनेका थिए , ‘माता–पतु उपानं पुत्तदारस्स सङ्गहो अनाकुला च कम्मन्ता’ । (आचार्य पष्ठ १०) अर्थात् माता–पिताको सेवा गर्नु, परिवारको पालन पोषण गर्नु, वर्जित गरिएका दुष्कर्महरु नगर्नु नै सर्वश्रेष्ठ वा उत्तम अवस्था हो । यसैले मातृ देवो भवः पितृ देवो भवः अनि मात्र ढिकुरो देवो भवः भन्ने सिद्धान्तलाई पुष्टी गरेको पाइन्छ ।