काठमाडौं उपत्यकाको पर्याय हो नेवार समुदाय । यही समुदायले विश्वभर नेपालीत्वको पनि पहिचान दिलाएको छ । वरिपरि पहाड र बीचमा समथर र उर्बर भूमि भएको यही काठमाडौं उपत्यकाले नेवार संस्कृतिमार्फत नेपालीको शान, मान र गौरव बढाएको पनि छ । शदियौंदेखि मौलिक रीतिरिवाज, भाषा, लिपि, पहिरन र जीवनशैली आज पनि विश्वको आकर्षणको केन्द्र भएर रहेको छ । यिनै सांस्कृतिक सम्पदालाई नजिकबाट हेर्न, ज्ञान लिन र त्यसको माध्यमबाट जीवनलाई धन्य बनाउन लाखौं विदेशी पर्यटकहरु नेपाल आउँछन् । सबैभन्दा लामो र पुरानो इतिहास बोकेको नेवारी संस्कृति परम्परादेखि आजपर्यन्त यथावत छ । पुस्तान्तरण हुँदै परिभाजित तथा परिष्कृत रुपमा निर्वाह भइरहेको छ ।
काठमाडौं उपत्यकामा सीमित नेवारी सभ्यता, संस्कृति र कला अहिले देशव्यापी भइसकेको छ । विभिन्न कालखण्डमा विभिन्न कारणले उपत्यका बाहिर पुगेका नेवार समुदायले जहाँ बसे त्यहीँ परम्परागत तथा मौलिक संस्कार र संस्कृतिलाई जीवित राखे । त्यहीकारण पछिल्लो समय देशका विभिन्न क्षेत्र र शहरहरुमा नेवारी संस्कृति प्रदर्शित छन् । यसले उनीहरुको भाषा, सभ्यता, संस्कार, संस्कृति र जातिप्रतिको गौरब बोध मात्र गराएका छैन मानव विकासको सूचकांकमा उच्च स्थानमा पनि राखेको छ । यसले पनि पुष्टि गरेको छ कि नेवारी संस्कृति सर्वोच्च छ ।
काठमाडौंलाई ‘मन्दिरै मन्दिरको शहर’ भनिन्छ । हुन पनि पाइलैपिच्छे मन्दिर तथा देवीस्थल भेटिने यहाँको अर्को विशेषता हो । असंख्य जात्राहरुको निरन्तरता । उनीहरुका जात्राहरुको यकिन विवरण नभेटिए पनि हाल सञ्चालनमा रहेका इन्द्रजात्रा, मत्स्येन्द्रनाथको रथ यात्रा, खड्ग सिद्धिनाथ, भोटो जात्रा, विस्केट जात्रा, विस्काजात्रा, बुङ्ग द्यः जात्रा, घोडे जात्रा, गाईजात्रा लगायत अन्य धेरै पर्वहरु त्यहाँको मौलिक विशेषता हो । हिन्दू र बौद्ध सभ्यताका अनुयायी भएकाले दशैं, तिहार, बुद्ध पूर्णिमा लगायतका पर्वहरुमा पनि उनीहरुको सहभागिता र मान्यता विशिष्ट रहेको छ ।
नेवारी समुदायको अभिन्न अङ्गका रुपमा रहेको गुठी उनीहरुको जन्मदेखि मृत्युसम्म जोडिएको संस्कृति हो । त्यही संस्कृतिले नेवार समुदायलाई ज्यूँदो राखेको छ । यसले नेवार समुदायलाई सामुहिकताको सूत्रमा बाँधेको छ, जुन विशेषता विश्व समुदायकै लागि उदाहरण बनिएको छ । ब्राह्मण, क्षत्री, बैश्य, सूद्रमा विभाजित वर्ण व्यवस्था अनुसार आ–आफ्नो परम्परालाई जीवित राख्ने यो समुदायको अभ्यासलाई सबै भूगोलमा रहेका नेपालीले अनुशरण गर्न जरुरी छ । खासगरी पहाडीमूलका नेपालीहरुमा पश्चिमी सभ्यताको अन्धानुशरण गर्ने प्रवृत्ति बढेको छ । जातीय परम्परा र संस्कृतिलाई त्याग्ने, भौतिकताको पछि दौडिने आधुनिकताले सिंगो जातिकै विलय गराउँछ भन्ने बिर्सनु हुँदैन । त्यसका लागि पनि नेवार समुदायको गरिमामय संस्कृति हामी सबैका लागि गौरवपूर्ण छ ।