दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द

0
1

चितवन,

दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूध बिक्रीका लागि आग्रह गरिएको भन्दै पर्याप्त उपलब्ध हुन नसकेपछि उद्योग बन्द गरिएको बताउनुभयो । “एक पटक सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ”, उहाँले भन्नुभयो, “उद्योग नियमित सञ्चालन गर्न पर्याप्त दूध उपलब्ध हुनु जरुरी छ ।”

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले किनेर मेसिन बिग्रन नदिन उद्योग पुनः सञ्चालनको योजना बनाइएको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । “गत वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था आएको थिएन”, उहाँले भन्नुभयो ।

प्रबन्धक पराजुलीका अनुसार उद्योगमा ३३ जना कर्मचारी छन् । उद्योग सञ्चालन नहुँदा मासिक रु १५ लाख तलब, मेसिन तथा भौतिक संरचना व्यवस्थापनमा खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फार्मले नलगेपछि दुई पटक गरी झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी छ । केही महिनाभित्र सबै सामग्री खाली हुने उहाँको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापित उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here