आशाको केन्द्र ड्रागन खेती

0
5

करिब बाइस वर्षअघि नेपाल भित्रिएको सिउँडी प्रजातिको ड्रागन फल अहिले नेपाली किसानको आकर्षणको केन्द्र बन्दै गएको छ । पशु चिकित्सक डा. जगन्नाथ राईले नेपाल भित्र्याएको ड्रागन फलको खेती अहिले व्यावसायिक नै बन्न थालेको सबै नेपालीका लागि खुशीको समाचार बन्नुपर्छ । किनकि यसले फलफूलमाथिको परनिर्भरता कम गर्दै देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिनेछ । थाइल्याण्ड, चीन, भियतनाम, जापान, ताइवान, कोरिया लगायत अमेरिकी मुलुकहरु ब्राजिल, अर्जेन्टिना आदि देशमा मात्रै हुने गरेको यसको खेतीको बारेमा नेपाली अनभिज्ञ थिए । अहिले पनि सबै नेपालीको स्वाद बन्न नपाएको ड्रागनप्रति आकर्षण बढ्दै जाँदा क्रमशः यसको पहुँच पनि बढ्दै गएको छ ।

खासगरी उष्ण प्रदेशीय हावापानीमा हुर्किने ड्रागन समुद्री सतहबाट एक सयदेखि आठ सय मिटरसम्मको उचाइमा हुन्छ । यसलाई भिटामिनको मुख्य स्रोत मानिन्छ, जसमा भिटामिन–बी वान, बी टू, बी थ्री लगायत क्याल्सियम र फस्फोरस पनि पाइने औषधि विज्ञानले पुष्टि गरेको छ । यसको नियमित सेवनले भोक जगाउँछ, आँखाको तेज बढाउँछ, शरीरलाई तनावमुक्त बनाउँछ । ड्रागन फलमा तौल घटाउने, शरीरलाई सन्तुलित राख्ने, ग्लुकोजको मात्रा कम गर्दै मधुमेह नियन्त्रण गर्ने चिकित्सा विज्ञान सिद्ध तथ्य रहेको विज्ञहरुले बताएका छन् । सेतो र रातो दुईवटा जातमा पाइने ड्रागन फलको सेवनले शरीरमा भएको विषाक्त तत्वलाई हटाउने, कोलेस्टोरल र उच्च रक्तचाप समेत कम गर्ने भएकाले यसलाई ईश्वरीय फल भन्ने गरिन्छ ।

दुई पटक मन्त्री बनेका लोकेन्द्र बिष्ट मगरले पहिलोपटक ड्रागन फलको व्यावसायिक खेती शुरु गरेका थिए । त्यही फल अहिले अघिकांशको बारी, कौशी र खेतमा बिस्तार भइरहेको छ । दाङ जिल्लाको बिजौराबाट शुरु भएको ड्रागनको रोपण र व्यावसायिकता यतिबेला काभ्रे, सुनसरी, धनकुटा, काठमाडौं, ललितपुर, चितवन, झापा हुँदै पूर्वी तहाडी जिल्ला इलाममा विस्तार भइसकेको छ । धनकुटा नगरपालिकाले त वडा नं. ८ लाई पकेट क्षेत्र नै तोकेर प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एक पटक लगाएको बिरुवाले बीस वर्षसम्म उत्पादन दिने र एउटै बोटबाट एकै सिजनमा बीस केजीसम्म उत्पादन दिने भएपछि किसानको रोजाइमा परेको यसले अन्य खेतीलाई पनि विस्थापन गर्दै लगेको छ । खुद्रा मूल्य चार सयदेखि एक हजार रुपैयाँसम्ममा प्रति केजी बिक्री हुने ड्रागन फल खरिद गर्न किसानका घरमै व्यवसायी पुग्ने गरेकोले बजारीकरणको समेत समस्या नरहेको इलामका किसानले बताएका छन् । सिँचाइ सुविधा नभएको र रुखो जमिनमा समेत रोप्न सकिने ड्रागन क्यान्सर प्रतिरोधी समेत भएकाले निकट भविष्यमा यो प्रत्येक भान्साको अनिवार्य खाद्यवस्तु बन्ने पक्का छ । त्यसैले आयात प्रतिस्थापन गर्न सक्ने ड्रागनखेतीको प्रवद्र्धनमा राज्यको ध्यान जानु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here