झापामा नामै नसुनिएका नयाँ पार्टीको चन्दा आतङ्क

0
8

झापा ।

नामै नसुनिएका तथा राजनीतिक वृतमा गतिविधि शून्य भएका दलले झापामा चन्दा आतंक सृजना गरेको खुलासा भएको छ ।

केही दिनदेखि झापाका अधिकांश विद्यालयमा आर्थिक सहयोग माग्दै उनीहरुले पत्र पठाउने गरेको खुलासा भएको हो । भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान, राष्ट्रियता, जनतन्त्र तथा जन जीविकाका मुद्दालाई लिएर संघर्ष गरिरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन भन्दै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले विद्यालयहरुमा पत्र पठाउँदै चन्दा मागेको छ ।

पार्टीका इञ्चार्ज मिसेकले हस्ताक्षर गरेपनि उनले मिति र विद्यालयको नाम भने उल्लेख गरेका छैनन् । यो पार्टीमा को आवद्ध छ भन्ने हालसम्म खुल्न सकेको छैन । भारतसँंग गरिएका सम्झौता विरुद्ध आन्दोलन गर्नुपर्ने तथा मिटरव्याजीमाथि कारवाही, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा माफियाहरुको हालीमुहाली भएको भन्दै सो पार्टीले त्यसविरुद्ध संघर्षको नाम लिएर विद्यालयमा चन्दा आतंक मच्चाएको बताइएको छ । सो पार्टीले झापामा कुनै पनि राजनीतिक गतिविधि नगरेको तर, चन्दा आतङ्क मच्चाएको जनाइएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी) ले समेत विद्यालयमा चन्दा आतंक मच्चाइरहेको पाइएको छ । उक्त पार्टीका महासचिव महावीरद्वारा हस्ताक्षरित सहयोग पत्रमा देशका जातीय, वर्गीय, क्षेत्रीय र लैङ्गिक समस्याहरु विरुद्ध संघर्ष गर्नु पर्ने उल्लेख गरिएको छ । साथै सो पार्टीले बैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि पार्टीले शुरु गरेको विशेष अभियानमा आर्थिक सहयोग गरिदिन आग्रह गर्दै विद्यालयलाई पत्र पठाउने गरेको खुलेको छ । सो पार्टीले हालसम्म झापामा कुनै पनि राजनीतिक गतिविधि तथा कार्यक्रम नगरेको सुरक्षा क्षेत्रका जानकारले बताएका छन् ।

त्यस्तै बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल नामक दलको नाममा समेत चन्दा आतङ्क शुरु भएको छ । उक्त पार्टीका महासचिव आहुतिद्वारा हस्ताक्षरित आर्थिक सहयोगको पत्रमा सर्वहारा, श्रमजीवीवर्ग उत्पीडित राष्ट्र (जाति) एवम् समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै आर्थिक सहयोग मागिएको छ । साथै उक्त पार्टीले भदौ २८ देखि ३० गतेसम्म काठमाडौंमा प्रथम सम्मेलन गर्ने र त्यसका लागि अनिवार्य रुपमा चन्दा दिनुपर्ने भन्दै विद्यालयमा धम्की दिने गरेको बताइएको छ ।

फरक/फरक राजनीतिक दलले चन्दा आतंक तीव्र बनाइरहे पनि उनीहरुले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाम बेच्ने गरेको खुलासा भएको छ । समाज रुपान्तरण र बैज्ञानिक समाजवादका लागि गाउँ–गाउँमा गएर जागरण अभियान सञ्चालन गरिरहेको विप्लव माओवादीलाई बदनाम गराउने उद्देश्यले केही राजनीतिक दलले आफ्नो पार्टीको नाम भजाउँदै चन्दा उठाइरहेको नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला इञ्चार्ज सुमन सिले जानकारी दिए । उनले भने –हाम्रो पार्टी तथा विद्यार्थी संगठन कुनै चन्दा चिठ्ठामा लागेको छैन । हामी समाज रुपान्तरणका अभियानहरु सञ्चालन गरिरहेका छौं तर हाम्रो नाम भजाएर कसैले हामी विरुद्ध षडयन्त्र गरिरहेको आभास हुन थालेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई आत्म निर्भर बनाउन विभिन्न पेशा व्यवसायमा सम्लग्न गराएको उनको भनाइ छ । यसै क्रममा झापामा मात्रै हामीले दुई विगाह भन्दा बढी क्षेत्रफलमा सामुहिक रुपमा धान खेती गरेका छौं भने अन्य पेशा र व्यवसायमा नेता तथा कार्यकर्ताहरु लागेका छन् – सुमनले भने ।

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन(समाजवादी)ले शैक्षिक सुधार तथा समाजवाद स्थापनाका लागि जागरण अभियान सञ्चालन गर्दै विद्यालयहरुमा सहकार्यका लागि अनुरोध गरेको अखिल समाजवादीका झापा जिल्ला इञ्चार्ज विनोद सिले बताए । उनले भने – समाजवादी शिक्षा र व्यवस्था प्राप्तिका लागि हाम्रो संगठनले संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार अभियान सञ्चालन गरिरहेका छौं । आफूहरुले कुनैपनि विद्यालयमा चन्दा आतङ्क मच्चाउने काम नगरेको तर केही सञ्चार माध्यमले भ्रामक रुपमा आफ्नो विद्यार्थी संगठन तथा पार्टीको नाम जोडेर गलत प्रचार गरेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले राजनीतिक दलले चन्दा आतङ्क मच्चाएको विषयमा कुनै उजुरी नपरेको बताएका छन् । समाजमा चन्दा आतङ्क मच्चाएको कुनै उजुरी परे त्यस विरुद्ध अनुसन्धान गर्दै घटनामा सम्लग्नलाई कानूनी दायरामा ल्याउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here