विद्युत असहजताले रोजगारी गुम्ने खतरा

0
2

इलाम।

इलामको पश्चिमी क्षेत्रमा रहेको सिद्धदेवी टि–स्टेट प्रालिमा विद्युत् सेवा असहज हुँदा चिया उत्पादनमा समस्या निम्तिएको छ ।

निरन्तर विद्युत् अवरोध भइरहँदा फ्याक्ट्रीलाई असहज भएको कम्पनीका मेनेजर एन्ड्रयु गार्डनरले बताए । विद्युत् नहुँदा जेनेरेटरको माध्यमबाट चिया उत्पादन गर्नुपर्छ । हरियो पत्तीको सिजनमा दैनिक इन्धन खर्च ५० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ । खर्चिलो बन्ने भएपछि उत्पादन भएको चिया, कर्मचारीको तलब र खर्च नधान्ने हुँदा बन्द गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

गत साउन महिनामा कम्पनीमा ३९ लाख ६६ हजार ८० रुपैयाँ ५० पैसा खर्च हुँदा इन्धनतर्फ अधिक खर्च भएको बताइएको छ । निरन्तर विद्युत् सेवा सुचारू हुने हो भने इन्धनमा लाग्ने खर्च बच्ने र विद्युत् बिलमा कम खर्च हुँदा फ्याक्ट्री सञ्चालन गर्न सकिने उनले बताए । यसरी नै सधैँ विद्युत् सेवा असहज हुँदा फ्याक्ट्री बन्दको विकल्प नरहेको कम्पनीको ठम्याई छ ।

यदि, फ्याक्ट्री बन्द भयो भने यहाँ काम गर्ने करिब एक सय ५० जनाको रोजगारी गुम्ने खतरा बढेको छ । पटक–पटक विद्युत् सेवा अवरोध भएपछि कामदारलाई काम रोक्न लगाइएको कम्पनीले जनाएको छ । कामदारलाई काम नदिएपछि मजदुर, ड्राइभर, सेक्युरिटी गार्ड, टिमेकर लगायतले अफिस परिसरमा ‘कि रोजगार देउ, कि विद्युत् देउ’ भन्दै प्लेकार्डसहित फ्याक्ट्रीमा धर्ना दिएका छन् ।

दुई घण्टा टाढाबाट हिँडेर दैनिक रोजगारीमा आउने मजदुरहरुलाई काम रोकेर घर फर्काउँदा मार परेको कामदारहरु बताउँछन् । दैनिक पाँच सय किलोग्राम उत्पादन क्षमता भएको यस फ्याक्ट्रीले इलाम नगरपालिकास्थित नेपालटार, पुवामझुवा, देउमाई नगरपालिकाको पानीटार, फाकफोकथुमको कोल्बोटे, आमचोक, पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित वसाँगु, चिलिङदिन लगायत स्थानीय किसानले उत्पादन गरेको एक हजारदेखि एक हजार पाँच सय किलोग्राम हरियो पत्ती अहिलेको सिजनमा दैनिक संकलन गर्दै आएको छ ।

कम्पनीको आफ्नो उत्पादन दुईसय किलोग्रामसहित करिब दुई हजार किलोग्राम हरियोपत्ती फ्याक्ट्रीमा प्रशोधन गरी विभिन्न क्वालिटिका चिया उत्पादन गरिरहेको छ । विद्युुत् असहजले फ्याक्ट्री बन्द भएमा स्थानीय किसानले उत्पादन गरेको र विभिन्न ठाउँबाट संकलन हुँदै आएको चियापत्ती अलपत्र हुने परिस्थिति सिर्जना हुने उनको भनाइ छ । यहाँ उत्पादन भएको चिया चीन, भारत, जापान, युके, फ्रान्स, क्यानडा, अमेरिका लगायत विश्वका विभिन्न राष्ट्रहरुमा बिक्री हुँदै आएको बताइएको छ ।

इलामको फाकफोकथुम–१ पुरानो पञ्चमी र पाँचथरको सिमानमा करिब एक हजार पाँच सय रोपनी क्षेत्रफलमा रोपिएको उक्त चिया बगानमा स्थानीयले रोजगारीको अवसर पाएका छन् भने पूर्वको कन्याम जस्तै आगामी दिनमा पर्यटकीय स्थलको रुपमा पनि विकासित हुने सम्भावना बोकेको छ ।

राँके–रवि–भेडेटार सडकबाट पाँच किलोमिटर नजिक पर्ने यो क्षेत्र चिया खेतीका लागि प्रसिद्ध छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’मा यस कम्पनीले ‘उत्कृष्ट चिया’को उपाधि जितेको छ । चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’को उपाधि जितेको हो ।

अमेरिकास्थित ‘वल्र्ड टी एक्स्पो डट कम’का अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’को उपाधि नेपालको सिद्धदेवी टी–स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको हो । विद्युत् सेवा सुचारु नहुँदा दैनिक २० देखि २५ पटकसम्म जेनेरेटर चलाउनुपर्ने बाध्यता रहेको छ । लामो समय जेनेरेटर चलाइरहँदा बिग्रिने र खराबी आएपछि चियाको गुणस्तरमा समेत खराबी भएर नोक्सानी खेप्नु परेको कम्पनीको गुनासो छ ।

यता विद्युत् कार्यालयले भने लामो फिडर र जंगल क्षेत्रबाट लाइन विस्तार भएका कारण समस्या आएको जनाएको छ । इलाम र पाँचथरको सिमानामा इलाम वितरण केन्द्रबाट दुबै क्षेत्र एउटै लाइन मार्फत प्रसारण भएको तर कर्मचारी भने दुबै जिल्लाका छन् ।

विद्युत् लाइनमा समस्या आउँदा फिल्डमा खट्ने प्राविधिकहरूको एक–आपसमा समन्वय नहुँदा, बेलैमा बुस कटिङ, अवरोध र निगरानी नपुग्दा सेवाग्राहीले बारम्बार विद्युत् अवरोधको चपेटा खेपिरहनुपरेको स्थानीयको गुनासो छ । यस क्षेत्रका लागि राँके बजार आसपास सब–स्टेशन बनाउन सके समस्या हल हुने र दिर्घकालीन बन्ने स्थानीयको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here