‘एकवर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’

0
2

बागमती,

विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताउनुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो । घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उहाँको भनाइ छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन ।

आव २०८०÷८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आव २०७९÷८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष सङ्ख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठपटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७९/८० मा ३० प्रतिशत रहेकामा आव २०८०/८१ मा बढेर ४८ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउनेको सङ्ख्या शतप्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको सङ्ख्या ५६ प्रतिशतमात्र रहेको उहाँले बताउनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर विस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा बिदुर भण्डारीले बताउनुभयो । “पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन”, डा भण्डारीले भन्नुभयो, “त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ”, उहाँले भन्नुभयो । अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उहाँको भनाइ छ ।

गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतिक्षा कक्षको व्यवस्था मिलाइएको छ । “गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ”, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भन्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०/८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको सङ्ख्या २२ प्रतिशत पुगेको छ । तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here