डेंगु मृत्युको कारण नबनोस्

0
2

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असारमा देशभर डेंगु संक्रमण बढ्न सक्ने बताएको थियो । महाशाखाको अनुमान जस्तै यतिबेला देशभर डेंगु संक्रमितहरुको संख्या दिनहँु बढ्दै गएको छ । महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले मनसुन सक्रिय रहँदासम्म डेंगु संक्रमण पनि उच्च हुने बताएका छन् । महाशाखाको तथ्यांक अनुसार सन् २०२२/०२३ मा यसको प्रभाव अत्यधिक बढेको थियो । जसका कारण सय जनाभन्दा बढीको मृत्यु भइसकेको थियो । मनसुनको समयमा संक्रमणको जोखिम पनि उच्च हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न महाशाखाले सुझावसहित अनुरोध पनि गरेको थियो ।

एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयसहित चिकित्सकहरुले सुझाएका पनि थिए । पछिल्लोपटक कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । गत मंगलबार इलाम रोङ गाउँपालिका निवासी एक युवाको डेंगु संक्रमणमकै कारण दुःखद् निधन भयो । रोङ गाउँपालिका वडा नं. १ बस्ने ३६ वर्षीय युवा नारायण ढकालको उपचारकै क्रममा निधन भएको हो । यसले अब तराई मात्र होइन पहाडी जिल्लाहरुमा डेंगु संक्रमणको जोखिम बढेको संकेत गर्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार गत बैशाखयता यस प्रदेशमा एक हजारभन्दा बढी संक्रमित भएका छन् । यद्यपि यो संख्या उपचारमा आउनेहरुको मात्रै हो । निर्देशनालयका अनुसार कोशीका चौध जिल्लामध्ये सबैभन्दा बढी मोरङमा चार सय १२ जनामा संक्रमण भएको छ । त्यस बाहेक सुनसरीमा एक सय ९८, झापामा एक सय ४५, धनकुटामा एक सय एक, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङमा पाँच, पाँचथरमा चार र तेह्रथुममा दुई जनामा संक्रमण भेटिएको छ ।

ताप्लेजुङ र सोलुखुम्बूमा मात्र अहिलेसम्म डेंगु संक्रमण भएको तथ्यांक छैन भने मृत्यु हुने मध्ये इलाम र झापाका एक–एक जना रहेका छन् । उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, ढाड, जोर्नी र मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिने यसको पुष्टि प्रयोगशाला परीक्षणबाट मात्र हुन्छ । संक्रमण पुष्टि भएपछि लक्षण र दुखाइको व्यवस्थापन गरेर उपचार गर्नुपर्ने हुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउनुपर्छ । तर, हामीकहाँ ज्वरोलाई सामान्य ढंगले लिने गरिएकाले त्यही गल्ती मृत्युको कारण बन्ने गरेको छ । सामान्यतः डेंगु संक्रमणबाट मानिसको मृत्यु हुँदैन, तर पहिचान गरिएन भने त्यही जीवन हरण गर्ने व्यथा बन्न सक्छ । त्यसैले सबैले राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने सामान्य उपायको पालना गर्न चिकित्सकहरुले सुझाउने गरेका छन् । बीस वर्ष पहिले पहिलो पटक देखिएको डेंगु संक्रमणबाट बच्न स्वयम्को सचेतता पहिलो उपाय हो । त्यसका लागि सबै सचेत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here