प्रथम मचिन्द्र सुब्बा स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि आबद्ध साकोसलाई

0
28

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित गोलधापमा जारी प्रथम मचिन्द्र सुब्बा स्मृति भेट्रान नकआउट फुटबल प्रतियोगिता–२०८१को उपाधि बिर्तामोड–५स्थित आबद्ध साकोसले जितेको छ ।

युवाको साझा आवाज लागू औषधरहित समाज भन्ने मुख्य नारासहित आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्थानीय जागृति कृषक समूहलाई टाइब्रेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै आबद्ध साकोसले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट १–१गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । जागृतिको लागि खेलको १० औं मिनेटमा माधव दाहालले र आबद्धको लागि खेलको २६औं मिनेटमा इन्द्र जवेगुले गोल गरेकाथिए ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश नगद पुरस्कार १५ हजार र सातहजार पाँच सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्रप्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी आबद्धका दीपक बुढाथोकी, उत्कृष्ट गोलरक्षक आबद्धका नरेन्द्र बहादुर राई, सर्वाधिक गोलकर्ता जागृतिका रमेश चौहन र फाइनल खेलको उत्कृष्ट खेलाडी जागृतिका माधव दाहाल भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी तथा फाइनल खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका छन् ।
विजेताको नगद पुरस्कार मच्छिन्द्र सुब्बाका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बू र उपविजेताको नगद पुरस्कार स्थानीय डीएन फेसन वेयर तथा यस्मिन ब्यूटी पार्लरकी प्रोपाइटर निशा लिम्बूले सौजन्य गरेका थिए ।

प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, नगर कार्यपालिका सदस्य गौरीमाया चिमरिया, समितिका सचिव खगेन्द्र लिङदेन, सदस्य निशा तामाङ, अर्जुनधारा–१० वडा खेलकुद समितिका अध्यक्ष सुजन मगर, दाता बुद्धिमान लिम्बू लगायतले नगदतथा पुरस्कार प्रदान गरेकाथिए ।

आयोजक गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सचिव भूपालराज कार्कीले र कार्यक्रमको सञ्चालन सदस्य सुजन दाहालले गरेका थिए ।
गतभदौ ८ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा स्थानीय व्यावसायिक समूहका आठ वटा टिमको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here