सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

0
3
टक्सार (भोजपुर), 
इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।
धनबहादुरमात्र होइन, उहाँका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहनुभएको थियो । धनबहादुरले भन्नुभयो, “विगतमा रु १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने रु एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।”
सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”
आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन।  ”
घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आउनुभएका उहाँले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताउनुभयो । उहाँले ती सिन्का बिक्रीबाट रु एक हजार पाँच सयमाथि कमाएको बताउनुभयो । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताउनुभयो । यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here