करेलाबारीका ४८ घरपरिवारलाई विस्थापित गर्न ‘भूमाफिया’को धम्की

0
2

झापा,  बिर्ताामोड नगरपालिका –३ सैनिकमोड पश्चिम करेलाबारीका स्थानीयवासीले आफूहरुलाई भू–माफियाले उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । विगत केही वर्षदेखि भू–माफियाले आफूहरु बसोवास गरिरहेको जमिनको जग्गा धनीपूर्जा लिएर नापजाँचका लागि आउने गरेको र आफूहरुलाई घर खाली गर्न भन्दै धम्क्याउँदै आएको बताए ।


२०३८ सालदेखि सो क्षेत्रमा बसोवास गर्दै आएको बताउने स्थानीय कल्टु राजवंशीले भू माफियाले आफूहरुलाई घरवार विहीन बनाउन खोजेको गुनासो गरे । यो जमिन हाम्रो हो भन्दै पटक–पटक भूमाफियाको टोली घर खाली गराउन आउँछन् – उनले भने – भूमाफियाले करेलावारीमा आँखा लगाउँदा म मात्र होइन ४८ परिवारको उठिबास लाग्ने अवस्था छ ।
बिर्तामोड–३ को करेलावारी टोल विकास संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अन्धुवा खोलाको किनार पहिला चिहानघारी थियो –उनले भने – यो जमिन ऐलानी हो, यो जमिनमा २०३६ साल अघिदेखि बसोवास रहेपनि अहिले भूमाफिया धनीपूर्जा निकालेर जग्गा हत्याउन लागीपरेका छन् ।
भूमाफियाले सुकुम्वासी बस्ती रहेको खोलाको किनारको जग्गा आफ्नो नाममा दर्ता गरेपछि सुकुम्बासीवस्तीका स्थानीय आक्रोशित बनेका छन् । भूमाफियाले सो जमिन आफ्नो बनाउन लागेको भन्दै नेपाली कांग्रेस बिर्तामोड वडा नम्वर –३ ले विज्ञप्ति जारी गर्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । वडाका कार्यवाहक सभापति वाशुदेव माझी र सचिव सुवास भट्टराईले विज्ञप्ति जारी गर्दै सुकुम्वासी माथि विभिन्न तरिकाले डर, त्रास देखाउने तथा उक्त जग्गा आफ्नो हो भनी घर खाली गर्न दवाव दिई त्रासपूर्ण वातावरण सृजना गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा विगत ४५ वर्ष अघिदेखि बसोवास गर्दै आएका भूमिहीन सुकुम्वासीमाथि भूमाफियाले बदनीयतपूर्ण कार्य गरेको भन्दै पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको उल्लेख छ । स्थानीय भूमिहीन नागरिकले बसोवास गरी आएको जग्गा भूमाफियाले हडपी पुनः करेलावारीवासीलाई भूमिहीन बनाउन खोजेको प्रति पार्टी खेद् प्रकट गर्दछ – विज्ञप्तिमा भनिएको छ ।
करेलावारीको विषयलाई लिएर पार्टीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै करेलावारीवासीलाई भूमिहीन बनाउन नहुने र उनीहरुलाई न्याय दिलाउने पक्षमा पार्टी दृढ रहेको जनाएको छ । नेपाली कांग्रेस बिर्तामोड नगरका कार्यवाहक सभापति समेत रहेका वडा नम्वर –५ का वडाध्यक्ष सूर्य कन्दङ्वाले सिंगो नगर करेलावारीवासीको पक्षमा रहेको बताए । कसैले बद्नीयतपूर्ण तरिकाले यहाँका स्थाानीयलाई भूमिहीन बनाउन खोज्छ भने त्यो पार्टीलाई मान्य हुने छैन – कन्दङ्वाले भने । दुई वर्षअघि नै यो जमिन हाम्रो हो भन्दै भूमाफिया हामीलाई हटाउन आएका थिए –स्थानीय श्यामकुमार गुरुङले भने– भूमाफियाले चलखेल गरेर सुकुम्वासीलाई थप दुःख दिन खोज्दा पनि राज्य बेखवर छ, हामी अहिले राज्यविहीनताको अवस्थामा पुग्न लाग्यौं । भूपाल किराती अध्यक्ष रहेको सुकुम्वासी आयोगबाट भूमाफियाले यो जमिन आफ्नो पारेका रहेछन्– उनले भने – त्यो आयोग भन्दा अघिदेखि नै यस ठाउँमा हाम्रो बसोवास छ, राज्यले हेर्दै नहेरी कसरी जग्गाको पूर्जा दियो उनले प्रतिप्रश्न गरे ।
उनीमात्र होइन पत्रकार सम्मेलनमा सहभागी कमल वुढाथोकी, हेमकुमार कन्दङ्वा लगायतले समेत वदनीयतपूर्ण ढंगले भूमाफियाले यो जमिन हत्याउन खोजेको बताएका छन् । कन्दङ्वा करेलावारी टोल विकास संस्थाका अध्यक्ष हुन् भने बुढाथोकी नेपाली कांग्रेस –३ नम्वर वडाका सह सचिव हुन् । किराती अध्यक्ष रहेको बन शुद्धीकरण आयोगबाट दमक–१० का दुईजना महिलाले सो जमिनको धनीपूर्जा लिएका हुन् । अन्धुवा खोलाको पुलदेखि २ सय मिटर दक्षिण खोला किनारको सुकुम्बासी बसोवास गरेको जमिन आफ्नो नाममा दर्ता गराउँदै हालसाविकका लागि आएपछि घटना सार्वजनिक भएको थियो ।
समाचार स्रोतका अनुसार दमक –१० निवासी सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले सुकुम्बासी बस्ती रहेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले हालसाविकका लागि निवेदन दिएसंँगै गत वर्षको असोज १६ गते हालसाविकका लागि नापी कार्यालयबाट अमिनको टोली आएको थियो । नापी कार्यालयका सर्भेक्षक रामकुमार यादव र शत्रुधन चौधरी हालसाविक गर्नका लागि भन्दै सो स्थानमा आएका थिए । तर, स्थानीयले सो जमिनको नापजाँच नै गर्न नदिएको स्थानीय राजवंशीको भनाइ छ ।
मालपोत कार्यालय झापाले सक्कली धनीपूर्जा नभिडाई नियमविपरीत हालसाविकका लागि नापी कार्यालयमा पत्र पठाएको जनाइएको छ । योसंँगै त्यहाँका स्थानीयवाासीले यसअघि नै न्यायको माग गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए । कित्ता नम्बर ५७७ भएको ८ कठ्ठा जग्गा साविक अनारमनी–७ को सरस्वती ढकाल समेतको नाममा रहेको धनीपुर्जा बनाइएको छ । उक्त समूहले जग्गाको मालपोत तिर्नुपर्ने भन्दै केही समय अगाडि वडा कार्यालयमा कोशिस गरेपनि असफल भएको बताइन्छ । सोही समूहले साविक अनारमनी–६ मा समेत आफूहरुको २ कठ्ठा जग्गा रहेको बताउने गरेको छ । जग्गा हत्याउन खोज्ने ती महिला ऐलानीपर्ती जग्गा खोज्ने र कर्मचारीसँगको सेटिङ्मा दर्ता गराई बेचविखन गर्ने कार्यमा सम्लग्न भएको स्रोतको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here