बिद्यार्थीको बालबचत खातामा अठासी लाख

0
3

इलाम, विद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास भएसंगै इलामको सूर्याेदय नगरपालिकामा सञ्चालित विद्यालयको खातामा ८८ लाख रुपैयाँ जम्मा भएको छ ।


सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बालबचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपैयाँ जम्मा भएको हो । विद्यार्थीले दैनिक न्यूनतम पाँच रुपैयाँका दरले रकम जम्मा गर्दा २०७९ साल मंसीरदेखि गत असार मसान्तसम्ममा सामुदायिक र संस्थागत विद्यालयमा गरी ८८ लाख ७३ हजार ५ सय १५ रुपैयाँ रकम जम्मा भएको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिए ।
नगरपालिकामा ६५ वटा सामुदायिक विद्यालयमा भर्ना भएका दुई हजार ६ सय ६५ जना विद्यार्थीमध्ये दुई हजार ४ सय ९० जनाको खाता सञ्चालन गरिएको छ ।सामुदायिकतर्फ ८५ लाख ८८ हजार ४ सय ५० रुपैयाँ जम्मा भएको छ ।
बसाइँ सरी आउने तर कागजी प्रव्रिmया पूरा नगरेका कारण केही विद्यार्थीको खाता सञ्चालनमा समस्या भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए ।
यता नगरभित्रका ३१ वटा संस्थागत विद्यालयका दुई हजार ३४ जना भर्ना भएका विद्यार्थीमध्ये ७ सय ४७ जनाले मात्र खाता खोलेको पाइएको छ ।
जसबाट संस्थागततर्फ दुई लाख ८५ हजार ६५ रुपैयाँ मात्र रकम जम्मा भएको शाखाले जनाएको छ ।
नगरले चालू आर्थिक वर्षमा बालबचत खाता सञ्चालन र व्यवस्थापनका लागि दुई लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ । नगरको वडा नं. ८ ले नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीको खातामा प्रतिविद्यार्थी पाँच सयका दरले एकमुस्ट रकम जम्मा गर्न अनुदान रकम राखेको छ ।
नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको बैङ्क खाता खोली सञ्चालन गरिएको बालबचत खातामा उक्त रकम जम्मा भएको हो ।
नगरले बालबचत खाता सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सुरुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बचत गराएको थियो । नगरले गत शैक्षिक सत्रदेखि संस्थागत विद्यालयका विद्यार्थीको समेत खाता सञ्चालन गरी बचत कार्यव्रmममा सहभागी गराएको छ ।
विद्यार्थीले नगरको कार्यविधि अनुसार न्यूनतम दैनिक पाँच रुपैयाँका दरले मासिक १ सय ५० रुपैयाँ जम्मा गर्ने गरेका छन् भने फजुल खर्च घटाएर त्योभन्दा बढीकै दरले रकम जम्मा गर्ने गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिए । उनले भने– बालबचतले विद्यार्थीलाई नियमित गराउन सहयोग पुगेको छ तर संस्थागत विद्यालयले खाता खोलाउने विषयमा कन्जुस्याइँ गरेको पाइयो ।
शाखा प्रमुख भट्टराईले बालबचत विद्यार्थीको उच्च शिक्षाको सहयोगी कार्यव्रmम भएकाले संस्थागत विद्यालयमा खाता सञ्चालनका लागि थप पहल थाल्ने बताए ।
नगरले कक्षा १२ उत्तीर्ण गरेपछि मात्र खातामा जम्मा भएकोे रकम झिक्न पाउने व्यवस्था गरेको छ । बचत कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि नगरले प्रत्येक विद्यालयमा एक जना बालबचत फोकल शिक्षक तोकेको छ । सुरुमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बचत गराइए पनि अहिले कक्षा ७ सम्म उक्त कार्यव्रmम सञ्चालन गरिएको छ ।
नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यार्थीको भविष्यलाई ध्यानमा राखी बचत कार्यव्रmम सञ्चालन गरिएको जानकारी दिए । विद्यार्थी नियमित गराउने, अभिभावकले विद्यार्थी र विद्यालयप्रति चासो राख्ने भएकाले बचत कार्यव्रmम प्रभावकारी रहेको उनको भनाई छ ।
नगरप्रमुख राईले भने – शिक्षाको क्षेत्रमा नगरपालिका मात्र सव्रिmय भएर हुँदैन । विद्यार्थी र अभिभावक पनि चलायमान बन्नु पर्छ भन्ने हाम्रो मान्यता हो, त्यो काम यो बचत कार्यक्रमले गरेको छ ।”
शैक्षिक गुणस्तर सुधारमा लाग्दै प्रविधिमैत्री शिक्षामा जोड दिइरहेको नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को कुल बजेट एक अर्ब १० करोड ७५ लाख २४ हजार पाँच सय रुपैयाँमध्ये शिक्षा क्षेत्रमा मात्र ३६ करोड २७ लाख ७० हजार रुपियाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये आन्तरिकतर्फ चार करोड ६३ लाख र अन्य ससर्तको रकम रहेको शाखाले जनाएको छ ।
नगरले यस शैक्षिक सत्रबाट विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत ध्यान दिने भएको छ । आन्तरिक ५० लाख रुपियाँ बजेटबाट चालु शैक्षिक सत्रमा गणेश्वरी माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको पेसागत विकास तालिम, विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ अनुसार सफ्टवेयरमार्फत मूल्याङ्कन कार्यक्रम नगरले सञ्चालन गर्ने भएको छ ।
शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट घोषणा भएको नगरपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रत्येक विद्यालयमा ई हाजिरी, कम्प्युटर ल्याब सञ्चालन गरी गणित, विज्ञान ल्याब स्थापना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here