अमित खम्बू
अर्जुनधारा,झापाको अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवम् गरुड महापुराण पाठ प्रवचन हुने भएको छ ।
सबै सुखी बनुन्, सबै निरोगी बनुन्, सबै राम्रो देखिउन र कोही पनि दुःखको भागिदार बन्न नपरोस् भन्ने संकल्प लिएर उक्त महायाग हुन लागेको शंकराचार्यपीठ व्यवस्थापन समितिद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
भगवान शिवको पूजाआराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ती हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको सो महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले दावी गरे ।
यज्ञहरु यत्र तत्र सर्वत्र भइरहे पनि यज्ञमा अपनाउनुपर्ने मन्त्रशुद्धि, भावशुद्धि, द्रव्यशुद्धिमा कमी हुँदा दैनिक जसो अत्यन्त दुःखद घटना बढिरहेको वर्तमान अवस्थामा यस महायागको विशेष महत्व रहेको हुँदा पवित्र मन,श्रद्धा, निष्ठा, विचार र पूर्ण आस्था राखेर सबै सहभागी हुनुपर्नेमा अध्यक्ष खतिवडाले जोड दिएका छन् ।
अध्यक्ष खतिवडाका अनुसार महायाग आयोजना गर्नुको अर्को उद्देश्य वि.सं.२०३३ सालमा स्थापना भएको शंकराचार्यपीठको ४९औं स्थापना दिवससँगै आगामी २०८२ सालमा हुने संस्थाको स्वर्ण जयन्तीको तयारी स्वरुपभएको बताइएको छ ।
१५१ जना पण्डित सहभागी हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ । दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्र्तगत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला(गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने बताइएको छ ।
महायाग अन्र्तगत विहान ८ बजेदेखि १२ बजेसम्म अभिषेक, पाठ र हवन तथा दिँउसो १ बजे प्रवचन र ३ बजे यज्ञ विश्राम हुने संस्थाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबिच शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको सोही दिन भूमिपुजन गरिएको छ ।
शंकराचार्यपीठका संस्थापक एवम् प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भएको यज्ञस्थलमा भूमिपुजन सम्पन्न भएपछि सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा जोतिएको थियो ।चित्रकला गहना सेन्टरका सञ्चालक निरज चुडालले सुनको फाली बनाएर सहयोग गरेको बताइएको छ । सो फालीको प्रयोग गर्दै भूमि जोतिएको थियो ।
पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले शंकराचार्यपीठको उक्त पूण्य कार्यलाई झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संस्थाका प्रमुख संरक्षक केदारनाथ खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले र कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद नेपालले गरेका थिए ।