‘तिमीभन्दा माथि जहिलेसुकै पनि कानून हुन्छ’ –डायसी
सम्भावनाले आफैले आफैलाई प्रश्न गर्छिन् । समानता र समतामूलक समाजका बीचमा के फरक छ ? उनको विचारमा उक्त प्रश्नको जवाफ लिन, सर्वप्रथम समाजमा भएकोे परिवर्तनलाई दुईवटा अवस्थाबाट अध्ययन गर्नु पर्दछ । पहिलो समाजको विगतको अवस्था र दोस्रो समाजकोे वर्तमान अवस्थाको बारेमा अध्ययन गर्नु पर्दछ । त्यसपछि मात्र भावी समाजको आंकलन गर्न सकिन्छ ।
समाजको वर्तमान अवस्थाभित्र विशेषगरी भौतिक र सामाजिक पक्षलाई अध्ययन गर्नुपर्ने हुन्छ । जसले समाजभित्र भएका वास्तविक र ठोस वस्तुका बारेमा प्रत्यक्ष अनुभव गराउँछ । समाजको विगतको अवस्थाले भने सामाजमा परम्परादेखि ग्रहण गरिआएका संस्कृति एवम् संस्कारका पक्षलाई अध्ययन गर्न सहयोग पु¥याउँछ । वर्तमान अवस्थासँग सम्बन्धित भौतिक र सांस्कृतिक दुबै पक्ष मूर्त स्वरुपका हुन्छन् । जसलाई सजिलैसँग देख्न र आकंलन गर्न सकिन्छ । तर, विगतका भौतिक तथा सांस्कृतिक अवस्था इतिहासको खण्डहरमा रहेका हुन्छन् जो हाम्रा लागि अमूर्त शैलीका हुन्छन् । जसलाई सजिलै देख्न र आंकलन गर्न सकिदैन ।
सम्भावनाले समाजभित्र रहेका यिनै विगत र वर्तमान अवस्थाका बारेमा तर्कनाहरु गरिरहेकी हुन्छिन् । जसले सम्भावनालाई प्रभाव पारिरहेको हुन्छ । उनी विगत र वर्तमान अवस्थाको बीचमा तुलना गर्छिन् । आजका दिनमा आइपुग्दा उनी र उनका सहयोगीहरुले विगतका दिनमा गरेका कार्यहरु जो भौतिक पक्षसँग सम्बन्धित थिए । ती पक्षलाई समाजले सजिलैसँग हेरिरहेको छ । आंकलन पनि गरिहेको छ । उनहिरुले के गरिरहेका छन् । हिजो कस्तो अवस्था थियो । आज कस्तो अवस्थाबाट समाज अगाडि बढिरहेको छ भन्ने कुरालाई आत्मसात पनि गरिरहेका छन् । वस्तुगतरुपमा रहेका यी कुराको आधार पहिल्याउन खासै समस्या पर्दैन ।
यदि सांगगठित स्वरुपमा काम गर्न सकियो भने समाजको विकास गर्न सकिँदोरहेछ । यो मान्यता उनीहरुले स्थापित गरे । तर, त्यही समाजमा विगतका दिनदेखि परम्परागत शैलीमा चलिआएका रीतिरिवाज, संस्कारहरु वा मूल्य–मान्यताहरु जो सजिलैसँग परिवर्तन हुन सकिरहेका छैनन् । कतिपय परिवर्तन गर्न नै सकिँदैन । हुनुपर्ने परिवर्तन गर्न पनि कठिन भइरहेको छ । भएका परिवर्तनको पनि ठोस आकार छैन । ठोस आकार नभएकाले सबैले समान दृष्टिले स्वीकार र आंकलन गर्न सकिरहेका छैैनन् । जो विगतमा थिए । आज पनि छन् । अमूर्त शैलीका वस्तुहरुले समाजमा पारेको प्रभाव अध्ययन गर्न नसकिने भएकाले यसको उन्नति कति भयो । स्पष्टरुपमा विश्लेषण गर्न स्वयम् सम्भावना र उनको समूहलाई पनि कठिन भइरहेको छ । शून्य अवस्थामा नै रहेको त होइन । जे–जति भयो । समाजमा त्यसको सकारात्मक प्रभाव परे पनि आंकलन हुन सकेको छैन । तर, पनि परिवर्तनले बिस्तारै–बिस्तारै आप्mनो गति लिइरहेको छ ।
हाम्रो मुलुकमा निर्माण भएका कानूनी पक्षका रुपलाई हेर्दा समाजमा त्यस्ता कुनै पनि पक्ष छैनन्, जहाँ कानूनको आँखा नपुगेको होस् । कानून विशेषगरी भौतिक पक्षका नियमहरुसँग सम्बन्धित छन् । जसलाई सिद्धान्तमा मात्र व्याख्या गर्न सकिन्छ । सिद्धान्त र व्यवहारिक पक्षको बीचमा फरक त हुन्छ नै । तर, त्यो फरकलाई पनि राज्यले कसीमा राखेर तौलनु पर्दछ । तर, राज्यले तौलन सकिरहेको छैन । यसको अर्थ राज्यले कानूनलाई सही बाटोमा हिँडाउन सकिरहेको छैन । कानून कार्यान्वयनका हकमा राज्य दायित्वहीन बन्न पुगेको छ । कानूनका सिद्धान्त अनुरुप कानूनको पालना गर्दा राज्य निर्मम र कठोर हुन सक्नु पर्दछ ।
यदि राज्यले कानून कार्यान्वयनमा निर्मम र कठोर भएर लाग्ने हो भने त्यसको प्रभाव समाजमा राम्रो पर्दछ । तर, राज्य निर्मम र कठोर भएर कानून कार्यान्वयनमा लागेन भने फेरि पनि समाजमा तिनै वर्गको उदय हुन्छ । जसले हिजो पनि समाजमा अराजकता मच्चाए । समाजलाई परनिर्भर बनाए । आज पनि बनाउँदै छन् । भोलि पनि बनाउने छन् । जबसम्म न्याय अभिभाज्य जस्तो वर्गको शक्तिको हातमा कैद हुन्छ । तबसम्म न्याय, न्यायको परिभाषाभित्र अटाउन सक्दैन । बेलायती कानूनविद् डायसीको एउटा भनाइलाई उदृत गरौं । जसले राज्यलाई मागनिर्देशन गर्नसक्छ । अभियानलाई पनि हिम्मत दिन्छ । ताकि राज्यको घैटामा घाम लाग्यो भने भोलीका दिनमा न्याय स्थपित हुन्छ कि भनेर अपेक्षा राख्न सकिन्छ । डायसीको भनाइमा– ‘तिमी जतिसुकै माथि होऔ तर तिमीभन्दा माथि जहिलेसुकै पनि कानुन हुन्छ ।’ यो सिद्धान्तले वास्तविक रुप लिन सक्यो भने समाज परिवर्तन तथा सुधारका कार्यमा महत्वपूर्णरुपमा सहयोग पुग्दछ ।
यिनै भनाइलाई मुख्य आधार बनाइ सम्भावनाको सबल र सफल नेतृत्वमा ‘समाज परिवर्तनका लागि अभियान कार्यक्रम’ भन्ने संस्था स्थापना भएको थियो । यस संस्थाको मुख्य कार्यमा समाजबाट उपेक्षित बन्न पुगेका जुनसुकै वर्ग र समुदायबीचका विभेदको अन्त्य गर्ने रहेका थिए । यसैगरी उनीहरुको हकहित र कल्याण प्राप्तिका लागि अभियानले मुख्य मुद्दा बनाइ बहस र पैरवी गर्ने हो । युगौं युगदेखिको संस्कृतिकै अङ्गका रुपमा विकास भएको सामाजिक विभेदका अन्त्य गर्ने हो । यी कुरा त्यति सहज र सजिला थिएनन् । महिला मुक्तिका कुरा, जातीयताका कुरा, अंश र वंशका कुरा, छुवाछुतका कुरा, उत्पीडित वर्गका कुरा, अपाङ्गताका कुरा आदिबाट समाजलाई मुक्त गराउन र जरैदेखि उखेलेर फ्याक्न उनीहरुले चाहँदाचाहँदै पनि सोचे जस्तो प्रगति भएको थिएन । यसका लागि आफ्नो कार्यनीतिमा उनीहरुले परिवर्तन ल्याउने प्रयास गरे । यसभित्रका जड्सूत्रका रुपमा रहेका विभिन्न वस्तुहरुको पहिचान गरे । पहिचान गरिए अनुरुप जडसूत्रका तत्वहरु मध्ये एउटा शिक्षा हो भन्ने ठम्याइ उनीहरुको थियो । यस तत्वलाई अझ वस्तुगतरुपमा उनीहरुले महशुस गरे । फलस्वरुप उनीहरुले समतामूलक समाज निर्माणका लागि विद्यालय शिक्षाको योगदान अपरिहार्य छ भन्ने निष्कर्ष निकाले । समतामूलक समाजको अवधारणा विद्यालयबाट शुरुवात गर्न वहस सञ्चालन गर्ने प्रयास उनीहरुले गरे ।
यसका लागि उनीहरुले शिक्षाका क्षेत्रमा अवसर, समानता र समता आदि जस्ता पक्षमा सरकारी पक्षबाट निर्मित नीति तथा कार्यक्रमको अध्ययन गरे । नीति अनुरुप कक्षा कोठामा भइरहेका कार्यान्वयनका पक्षको पनि अध्ययन गरे । निष्कर्ष थियो । शिक्षा लिन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यस पक्षमा उल्लेख्य प्रगति भइरहेको भए तापनि अझै पनि शिक्षा लिने अवसरबाट बालबालिका वञ्चित रहेको पाए । त्यसैगरी छोरा र छोरीको शिक्षामा समान सहभागितामा पनि उल्लेख्य रुपमा भइरहेको पाए । तर, एसइईको परिणामलाई हेर्दा छोरीको उपलब्धि निरासाजनक पाए । यसबाट छोरा र छोरीका बीचमा शिक्षा प्रदान गर्ने कुरामा विभेद छ भन्ने उनीहरुले ठाने । यो विभेदका साथै आजका दिनमा मुख्य समस्या समतामा रहेछ ।
समतामूलक समाजको पहिलो खुड्किलो विद्यालय हो भन्ने कुरामा राज्य पनि चुक्यो । समाज पनि चुक्यो । स्थानीय संघ–संस्था तथा व्यक्ति पनि चुके । फलस्वरुप समताको पक्ष भने निकै नै पछाडि रहेको पाए । समतामूलक समाज खासगरी सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको हुन्छ । यसअर्थमा न्यायोचित समाज निर्माणका लागि परिवारबाट बाधा अडचन भएको रहेछ । पाठ्यक्रम र विद्यालयबाट पनि अड्चन भएको रहेछ । अतः समाजबाट यो क्षेत्रमा परिवर्तका संकेत देखाउन सजिलो थिएन । यसैले विद्यालयबाट नै सामजिक न्यायको सिद्धान्तलाई व्यवहारमा लानु पर्दछ भन्ने निष्कर्ष उनीहरुले निकाले ।
यसका लागि उनीहरुले समानता र समताका बीचमा भएको फरकको बारेमा संस्थाभित्र बहस चलाए । उदाहरणका लागि समानता भनेको महिला र पुरुष, दलित र गैर दलित आदिका बीचमा विभेद नगरी समान दृष्टिकोणले गरिने व्यवहार भन्ने अर्थ लगाए । यस अर्थमा कुनै व्यक्ति वा समुदायलाई जातभात, धर्म, लिङ्ग, अपाङ्गताका आदि जस्ता पक्षलाई आधार मानेर भेदभाव नगर्नु समानता हो । त्यसैगरी समता भन्नाले कुनै पनि व्यक्ति वा समूहलाई न्यायोचित व्यवहार गर्नु हो । समानता एउटा अवसर मात्र हो । यो अवसरलाई सबैले समान रुपमा उपयोग गर्न सक्छन् भन्ने छैन । अवसर प्राप्त गर्नका लागि आवश्यक पर्ने क्षमता व्यक्तिमा छ वा छैन भन्ने कुरामा निर्भर हुन्छ । यसकारण क्षमता प्राप्त गर्नका लागि यदि व्यक्ति आर्थिक र सामाजिक दृष्टिले पछाडि परेका वर्ग वा समुदायका हो भने सर्वप्रथम उसको आर्थिक स्रोतका पक्षमा पहँुच पु¥याउनु पर्दछ । यसो गर्नु भनेको न्याय दिनु हो । न्याय दिन सकिएको अवस्थामा मात्र समतामूलक समाजको निर्माण गर्न सकिन्छ ।
एउटा दृष्टान्त हेरांै । सार्वजनिक विद्यालयमा विद्यालय पोशाकमा एकरुपता ल्याउने समान अवसरको एउटा पक्ष हो । टाइ केटा र केटी दुबैले लाउनु पर्दछ भन्ने विद्यालयको निर्देशन हुन्छ । तर, जुत्ता किन्ने क्षमता छैन भने टाइको के अर्थ । अर्थात् कसैले जुत्तासहितको टाइ लगाएका छन् भने कसैले चप्पलमै टाइ लगाएका छन् । उनीहरुलाई समान अवसर दिँदादिँदै पनि आर्थिक स्रोतको क्षमताको कारणले गर्दा उनीहरुबीचमा फरक आयो । त्यहाँ न्यायोचित भएन । यसर्थ जहाँ अवसर हुन्छ, त्यहाँ समता नहुन पनि सक्छ । त्यसैगरी अर्को एउटा उदाहरण पनि हेरौं ः वयस्क र वृद्ध दुबैलाई मकै–भटमास भुटेर खाजा खान दिऊ । यी दुबैलाई मकै–भटमास भुटेर खान दिनु समानता वा अवसर हो । तर, वृद्धका दाँतै छैनन् भने त्यो न्यायोचित भएन । अतः वृद्धको पहुँच त्यसबेला मात्र पुग्दछ, जब त्यही मकैलाई सातु बनाएर दिइन्छ । यो न्यायोचित वा समता हो । यसैले जहाँ समानता हुन्छ । त्यहाँ समता नहुन सक्छ । तर, जहाँ समाता हुन्छ । त्यहाँ न्याय भने निश्चितै हुन्छ ।
कक्षा कोठाको बसाइ व्यवस्थापनले पनि लैङ्गिक विभेदको संकेत गरिरहेको हुन्छ । शिक्षकले गर्ने व्यवहार, साथी साथीका बीचमा हुने व्यवहार, पाठ्यक्रम–पाठ्यपुस्तकका विषयवस्तुमा देखिने लैङ्गिक विभेद पनि सामाजिक न्याय वा समतामूलक समाजका लागि बाधा र अड्चनका रुपमा रहेछन् । विद्यालयमा रहेको भर्ना अभिलेखमा बाबुको नामलाई मात्र महत्व दिने । यहाँ आमाप्रति न्याय भएन । आमाको नामलाई खासै चासो नराख्नु । बाबुको नाम विना भर्ना गर्न कठिनाइ हुनु । यी पनि सामाजिक विभेदका संकेत हुन् । विद्यालयमा हुने हरेक कार्यक्रममा आमाको उपस्थिति हुने । बाबुले खासै चासो नदिने गरेको हुन्छ । प्रत्येक महिना तिर्नुपर्ने विलको रकम बुझाउन आमा विद्यालय जाने तर धन्यवाद भने बाबुले पाउने हुन्छ । यहाँ पनि आमाप्रति न्यायोचित वा समताको अवस्था रहेन ।
शिक्षाको क्षेत्रमा जब एसइईको परिणाम आउँछ । त्यसपछि विद्यालय, समाज हुँदै राष्ट्रीय स्तरसम्म सकारात्मक र नकारात्मक दुबै प्रकृतिका बहस हुन थाल्छन् । विशेषगरी उत्तीर्ण हुने राम्रो श्रेणी ल्याउने बधाईको पात्र बन्दछन् भने अनुत्तीर्ण हुने माथि नकारात्मक टिका–टिप्पणीसहित अमर्यादित व्यवहार समेत हुन्छ । जसले बालबालिकालाई हतोत्साही गर्नका साथै उनीहरुको बाल मनोविज्ञानमा समेत नकारात्मक असर पार्दछ । यसले अभिभावक र विद्यार्थी दुबैलाई पीडा दिने कार्य गर्दछ । यस अवस्थामा ती बालबालिका माथि न्यायोचित व्यवहार भएन । यसलाई त सहजीकरण गर्नुपर्दथ्यो । उनीहरुको क्षमतालाई वृद्धि गर्ने कार्यक्रम दिएर फेरि परीक्षामा बस्न प्रोत्साहन दिनु पर्दथ्यो । यो हुन सकिरहेको छैन । यसले पनि समतामूलक समाजमा बाधा पु¥याइरहेको छ ।
हामी आजभोलि समाजभित्रै पनि सामान्य कुरामा हामी विवाद गरिरहेका हुन्छौं । जस्तैः छिमेकीको छोराले उसको श्रीमतीसँगै बसेर खाना पकाउने, भाडा माझ्ने, लुगा धुने आदि जस्ता कार्य गर्दछ । त्यो देखेर हामी कस्तो जोइटिङ्ग्रे हो भनेर खिसिटिउरी गर्दछौं । त्यस्तै फेरि अर्को परीवारमा श्रीमती खाना पकाउँछिन् । भाडा माझ्ने आदि घरका सबै काम गर्छिन् । फेरि हामी भन्छौ कस्तो श्रीमान् हो श्रीमतीलाई त केही सहयोग गर्दैन । यी दुबै परिवेशमा आएका कुराको बहस गर्नुको कुनै तुक वा अर्थ छैन । मुख्य कुरा के चाहिँ हो भने त्यो परिवारभित्र समझदारी चाहिँ छ वा छैन भन्ने हो । यदि समझदारी छ भने त्यो न्यायोचित हो । यदि समझदारी छैन भने त्यहाँ न्यायोचित भएन ।
हामीले लामो समयदेखि समाजमा भएका विभेद र बहिष्करणका बिरुद्धमा आवाज उठाउनका साथै न्याय, अधिकार सँगसँगै समानताको कुरा पनि गरिरहेका हुन्छांै । हामीले मागेको अधिकार वा न्याय समतामुखी वा न्यायोचित छ वा छैन भन्ने कुरालाई ध्यान दिनु पर्दछ । यसका लागि त्यो व्यक्ति वा समुदायको अवस्था कस्तो छ, सामाजिक परिवेशसँग मेल खान्छ वा खादैन, उसको स्रोतमा पहुँच छ वा छैन, ऊ बसेको समाजको भू–बनोटको अवस्था कस्तो छ, सभ्यता, संस्कृति, परम्परा र सामाजिकीकरणका आदिका अवस्था कस्ता छन् भन्ने कुराहरुमा समेत ध्यान दिनुपर्ने हुन्छ । फेरि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको भावनालाई पनि बुझ्नुपर्ने हुन्छ । यसको अर्थ सबैले सबैको अधिकारको सम्मान गर्न सक्नु पर्दछ । जसले समतामूलक समाज निर्माणमा सहयोग पुग्दछ । हामी समानताका नाममा अल्मलिइरहेका अवस्थामा अब एक कदम अघि बढेर समतामूलका समाज निर्माणका पक्षमा लाग्नु पर्दछ । किनभने जहाँ समानता हुन्छ । त्यहाँ अवसर नहुन सक्छ । जहाँ समता हुन्छ, त्यहाँ न्याय हुन्छ । न्याय भएको अवस्थामा मात्र समता हुन्छ । समतामूलक समाज नै आजको आवश्यकता हो ।